प्रेस युनियन दाङले ग¥यो ४ जना पत्रकारलाई निस्कासन र निलम्बन



दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासङ्घको आसन्न चुनावमा अन्तर्घात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ । प्रेस सङ्गठन र प्रेस युनियनको संयुक्त गठबन्धन रहेको चुनावमा अन्तर्घात गरेर विपक्षीको प्रचार प्रसार गर्दै गठबन्धनका केही उम्मेदवारलाई हराउनमा प्रमुख भूमिका खेलेको आरोप सहित ४ जना पत्रकार हरूलाई कारबाही गरेको हो ।

एक जना लाई युनियन बाट नै निष्कासन गरेको छ भने ३ जनालाई वर्तमान कार्यसमिति र साधारण सदस्य समेत नरहने गरी ६ महिनाको लागि निलम्बन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । युनियनका पूर्व केन्द्रीय पार्सद तथा साधारण सदस्य ऋषिराम यादवलाई युनियनमै नरहने गरी निष्कासन गरिएको छ ।

उनी गत चैत २५ गते भएको पत्रकार महासङ्घ दाङको चुनावमा विपक्षी प्रेस चौतारीबाट उम्मेदवार बनेका थिए । त्यस्तै युनियनकी सहसचिव सपना बोहरा, कार्यसमिति सदस्यहरू पूर्ण प्रकाश विश्वकर्मा (प्रिया स्मृति गजमेर) र शर्मिला डिसीलाई पदबाट हटाउँदै ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

कारबाहीमा पर्ने पत्रकार हरूलाई उम्मेदवार योग्य नभएको ठहर गर्दै आगामी युनियनको अधिवेशन तथा पत्रकार महासङ्घको चुनावमा उम्मेदवार नरहने गरी कुनै किसिमको सहयोग नगर्ने निर्णय समेत गरेको छ । उनीहरूकै अन्तर्घात र प्रेस सङ्गठनको आन्तरिक गुटगतका कारण महासङ्घको चुनावमा अध्यक्ष सहित केही प्रमुख पद तथा सदस्यहरूले हार बेहोर्नुपरेको युनियनको निष्कर्ष छ ।

अध्यक्ष सहित केही पदमा पराजित भए पश्चात् युनियनले आफ्नै मातहतको छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले साउन ९ गते यथेष्ट प्रमाण सहित ४ जनालाई कारबाही सहितको प्रतिवेदन तयार पारेपछि प्रेस युनियन दाङ शाखाको शनिवार बसेको विस्तारित बैठकले अनुमोदन गरेको हो ।

नेपाल प्रेस युनियन दाङ शाखाका कार्यबाहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको विस्तारित बैठकले छानबिन समितिको प्रतिवेदनलाई अनुमोदन गर्दै कारबाही गर्ने निर्णय गरेको छ । उनीहरू माथि विपक्षीको प्रचार गरेको, सङ्गठनको मर्म विपरीत प्रस्तुत भएको, पराजित गराउनमा प्रमुख भूमिका खेलेको, गठबन्धनको पराजित प्रति खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्टिएको यावत आरोपहरु छन् ।

पछिल्लो समय नेपाल प्रेस युनियन दाङ शाखामा उच्छृङ्खल प्रवृत्ति बढ्दै गएको र सही बाटोमा दोहोराउन यस्तो कदम चाल्नुपरेको कार्यबाहाक अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्