भालुवाङमा सवारीसाधनको प्रदूषण मापन गर्दा ३७ वटा गाडी पास, १६ वटा फेल



भालुवाङ ८ कार्तिक । दाङको देउखुरीमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदूषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदूषण मापन सुरु गरेको हो । सवारीसाधनको धुवाबाट वातावरण प्रदूषण बढेकाले प्रदूषण रोकथामका लागि सवारीसाधनको प्रदूषण मापन सुरु गरिएको वातावरण विभागका मेकानिकल इन्जिनियर विजय अधिकारीले बताउनु भयो ।

वातावरण विभागले लुम्बिनी प्रदेशबाट प्रदूषण मापन सुरु गरेको छ । विभागले सोमवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट प्रदूषण मापन अभियान सुरु गरेको छ । भालुवाङमा कुल ५३ वटा सवारीसाधन मध्य डिजेलबाट सञ्चालन भएका २७ वटा सवारीसाधनको प्रदूषण मापन गर्दा १२ वटा गाडी पास र १५ वटा गाडी फेल भएका छन् । भने पेट्रोलबाट सञ्चालन हुने २६ वटा सवारीसाधनको प्रदूषण मापन गर्दा २५ वटा गाडी पास र १ वटा गाडी फेल भएको वातावरण निरीक्षक प्रकाश केसीले बताउनु भयो । विभागले लुम्बिनी प्रदेशको भालुवाङ पछि अब अन्य प्रदेशमा पनि प्रदूषण मापन गरिने बताइएको छ ।

बढ्दो प्रदूषण रोक्न यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले पनि स्थायी राजधानीमा यन्त्र ल्याउन प्रयास थालेको छ । नेपाल सरकारले थालनी गरेको सवारीसाधान प्रदूषण मापन गर्ने काम कमै मात्रमा हुँदा यसले वातावरणमा प्रतिकुल असर परिरहेको हुन्छ । वातावरण प्रदूषण मापनमा फेल हुने सवारी साधनालाई पहिलो पटक सम्झाई बुझाई छोडिने र दोस्रो पटक फेल भए यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको नियम अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख उत्तम कुमार जिसीले बताउनु भयो ।

प्रदूषण मापन कार्यक्रममा वातावरण विभागका मेकानिकल इन्जिनियर विजय अधिकारी, वातावरण निरीक्षक प्रकाश केसी, यातायात व्यवस्था सेवा कार्यालय भालुवाङका मेकानिकल इन्जिनियर भरतकुमार कार्की, अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख उत्तम कुमार जिसी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता र सहायक स्टेसन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्