माओवादी केन्द्रको कार्यक्रममा काँग्रेसका कार्यकर्ता प्रवेश गरेपछि…



काठमाडौं। सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली काँग्रेसको १४औँ महाधिवेशनका बाक्लो चहलपहल थियो। काँग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो। उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल लास्ट ड्रेसिङ (बग्गी खाना) परिसरमा पनि निकै ठुलो घुइँचो थियो।

धिमे र पञ्चेबाजासहित प्रकाशमानको पक्षमा समर्थकहरू नारा लगाइरहेका थिए। श्रेष्ठका समर्थकले बग्गी खाना भरिभराउ थियो। पौडेल समूह छोडेर श्रेष्ठको प्यानलबाट उपसभापति घोषणा गरेका सुजात कोइराला र पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै महामन्त्रीमा उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजन केसीसहितका नेताहरू एकसाथ देखिएपछि माहौल झन् फरक बनेको थियो।

प्रकाशमानको पक्षमा नारा लागिरहँदा बग्गी खाना परिसरमा काँग्रेसको झन्डासँगै नेकपा माओवादी केन्द्रको झन्डा पनि बीच–बिचमा देखिएको थियो। बग्गी खाना परिसरभित्रै रहेको यलाम्बर पार्टी प्यालेसमा माओवादी केन्द्रको प्रदेश कमिटीको सम्मेलन आयोजना गरिएकाले त्यहाँ माओवादीको पनि झन्डा देखिएको थियो। काँग्रेसका कार्यकर्ताहरू झन्डा बोकेर पार्टी प्यालेसभित्र प्रवेश गरेपछि माओवादीका नेता कार्यकर्ताहरू मुखामुख गरिरहेका र माओवादीको झन्डा देखेर काँग्रेसका कार्यकर्ता बाहिर निस्कँदै गरेको दृश्य रोचक देखिन्थ्यो। कार्यक्रममा सहभागी हुन आएका माओवादीका प्रदेश कमिटीका नेताहरू बाहिर काँग्रेसको झन्डा र ब्यानर देखेर अलमलमा परेका थिए।

बाहिर सभापतिका उम्मेदवार प्रकाशमान सिंहले भाषण गरिरहँदा सोही परिसरभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यबाट सम्बोधन गरिरहनुभएको थियो। कार्यक्रम स्थलमा सहभागी काँग्रेस र माओवादीका कार्यकर्ताहरू भने माओवादी र सिंहको भाषण चाखपूर्ण रूपमा सुनिरहेका थिए। माओवादीले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सो पार्टी प्यालेसमा प्रदेश कमिटीको सम्मेलन आयोजना गरेको थियो भने सिंहले केहीअघि मात्र लास्ट ट्रडिङको भवनलाई सम्पर्क कार्यालय बनाएका थिए। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्