दाङको वर्सेवा घाटमा झोलुङ्गे पुलको उद्घाटन



लमही । मसोट खोला स्थित वर्सेवा घाटमा निर्माण भएको झोलुङ्गे पुलको सोमवार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पुलको उद्घाटन गर्दै पुलले गाउँ र सहरलाई जोड्ने भएकाले सुविधा उपभोगमा सहज हुने बताए ।

‘निश्चय पनि यहाँको समस्याहरू केही हद सम्म कम गर्न यो पुलले मद्दत गर्ने छ’शर्माले भने–‘वर्षामा भोग्नुपर्ने समस्याहरू यो पुलले पक्कै पनि कम गर्ने छ ।उपभोक्ता समितिका अध्यक्ष अमित बुढामगरको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधव चौधरीले सम्बोधन गर्दै वडा कार्यालय र उपमहानगरपालिकाबाट मसोट क्षेत्रको विकासको लागी ध्यान दिइएको बताए ।

नेकपा एमाले क्षेत्र नं. १ का इन्चार्ज नारायण डिसी छम्पालीले विकास नपुगेका खोला तथा नाका क्षेत्रमा प्राथमिकताका साथ योजनाहरू परेको र कार्यान्वयन गरिएको बताए ।सेवा प्रतिष्ठान नेपालका जिल्ला संयोजक दिपेश गौतमले चालु आर्थिक वर्षमा ९ स्थानीय तहमा १५ वटा झोलुंगेपुल निर्माण भइरहेको जानकारी दिए । स्थानीय सरकार, दातृ निकाय सँगको साझेदारीमा झोलुङ्गे पुल निर्माण भइरहेका हुन । राप्ती गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तीनगर गाउँपालिकामा एक/एक वटा झोलुङ्गे पुल बन्दै छन् ।

गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकामा २/२ वटा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । यही आर्थिक वर्षमा यि पुलको निर्माण सकिने छ । टोल विकास संस्थाका अध्यक्ष हस्तराम बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन बुद्धिराम पुनले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्