क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न, करण बडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन



काठमाडौँ, २७ फागुन ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नव निर्वाचित ३५ सदस्यीय कार्यसमितिमा बडाल अध्यक्ष छन् भने उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सह सचिवमा केशव भुल। कोषाध्यक्षमा शम्भु दंगाल रहेका छन् ।

अध्यक्ष बडाल मिर्मिरे संचारमा आवद्ध छन्, यस्तै डंगोल गोप्य खबर डटकमका सञ्चालक सम्पादक हुन् भने सचिव प्याकुरेल अर्थ सरोकार डटकमका सम्पादक हुन् ।
यस्तै केशव भुल सीआइएनमा कार्यरत छन् भने शम्भु दंगाल रातोपाटी डटकममा आवद्ध छन् ।

यस्तै सदस्यहरुमा मोटीभेट न्युज सञ्चालक सम्पादक सोभराज बराल, कान्तिपुर पब्लिकेशनमा आबद्ध नारायण सुवेदी, रेडियो मिर्मिरेमा कार्यरत मिक्साङ्ग वाइवा, अनलाइन पाना डटकम सञ्चालक सम्पादक नारायण अधिकारी, सुमन जोशी लगायत ३५ जना रहेका छन् ।

केन्द्रीय सम्मेलनको तयारी भइरहेका बेला क्रान्तिकारी पत्रकार संगठन नेपालले देशभर जिल्ला सम्मेलन गरिरहेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट रहेका क्रान्तिकारी पत्रकारहरु आबद्ध उक्त संगठनको राष्ट्रिय सम्मेलन आउँदो बैसाख १५ र १६ गते हुँदैछ ।

काठमाडौँको दोश्रो सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउने प्रमुख अथिति रहेका थिए, भने नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी धिरिन्द्रा उपाध्याय बिशेष अथिति रहेकी थिइन् ।

यस्तै सम्मेलनको उद्घाटन सत्रमा न्युनतम पारिश्रमिक निर्धारण समितका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, महासंघ केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठन नेपालका उपत्यका संयोजक जन्मदेब जैसीले सम्मेलन सफलताको शुभकामना दिंदै सार संक्षेपमा आफ्ना भनाई राखेका थिए ।

यस्तै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्त राम बिडारी, महासंघ केन्द्रीय सदस्य तथा प्रेस युनियन काठमाडौँ अध्यक्ष नकुल अर्याल, प्रेस चौतारी नेपाल काठमाडौ उपाध्यक्ष विष्णु आचार्य, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति सदस्य मिराराज भण्डारी लगायतका अथितिहरुले मन्तब्य राख्दै सम्मेलनबाट बन्ने नया कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।

यस्तै सम्मेलनबाट नव निर्वाचित कार्यसमितिको प्रथम बैठक आजै बसी आगामी दिनमा श्रमजीवी पत्रकारहरुको हक हितका लागि निरन्तर आन्दोलन सञ्चालन गर्ने, साना लगानीका मिडियाको संरक्षण र बिकाशका लागि आबस्यक पहल गर्ने, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा काठमाडौँ साखाका निबर्तमान अध्यक्ष मानध्वज लामा सागरुको अध्यक्षतामा अनामनगर स्थित संवाद डबलीमा सुरु भएको सम्मेलन उद्घाटन सत्रको सञ्चालन संगठनका निबर्तमान सचिब तथा पत्रकार महासंघ काठमाडौँ साखा सहसचिव रामसरण माझीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्