मोतिपुर प्रादेशिक औद्योगिक क्षेत्र



सैघाली खबर
रुपन्देही , १ चैत । रुपन्देहीको मोतीपुरमा प्रस्तावित प्रदेश ५ को प्रादेशिक औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । परामर्शदाता कम्पनी इन्क्लुसिभ वी लिंक जेभीले ६ महिना भन्दा बढी समय लगाएर तयार पारेको डीपीआर सरकारलाई बुझाएको छ ।

प्रतिवेदन अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ सय बिघामा पूर्ण वातावरणमैत्री अत्याधुनिक औद्योगिक क्षेत्र बन्नेछ । यहाँ साना, मझौला र ठूला गरी तीन सय उद्योग स्थापना गर्न सकिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए ।

 

‘अहिले परामर्शदाताले बुझाएको प्रतिवेदनको मसिनो गरी अध्ययन भइरहेको छ, थोरै तलमाथि भए पनि कम्तीमा ५ सय बिघा क्षेत्रफलमा उद्योगहरु स्थापना गर्न सकिने देखिएको छ’ उनले भने, ‘एक हप्ताभित्र डीपीआर फाइनल हुन्छ र काम अघि बढ्छ ।’

औद्योगिक क्षेत्रमा सडक, विद्युत, ढल, पानी र फोहोर पानी उपचार संयन्त्र जस्ता विभिन्न पूर्वाधार निर्माणमा ५ अर्ब रुपैयाँ लाग्ने महाप्रबन्धक बस्नेतले बताए ।

डीपीआरअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ सय बिघामा पूर्ण वातावरणमैत्री अत्याधुनिक औद्योगिक क्षेत्र बन्नेछ ।

सुरुमा पहुँच मार्ग निर्माण, कार्यालय स्थापना, वस्ती व्यवस्थापन र तारबारको काम अघि बढ्ने छ । डीपीआर तयार भएसंगै औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० का लागिसमेत परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको महाप्रवन्धक बस्नेतले बताए ।

पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७५र७६ का लागि ५० करोड रुपैयाँ माग गरिएको छ । औद्योगिक क्षेत्र स्थापनापछि ७० हजारले प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब ५ लाख जनाले रोजगारी पाउने बस्नेतले बताए ।

पूर्ण वातावरणमैत्री बन्ने

औद्योगिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको र पूर्ण वातावरणमैत्री बनाउने सरकारको तयारी छ ।

उद्योगहरुबाट उत्सर्जन हुने प्रदूषित पानीलाई शुद्धिकरण गरी नदीमा मिसाइनेछ, यसका लागि एक अर्ब लगानीमा ‘वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट’ ९प्रदूषित पानी उपचार संयन्त्र० राखिने महाप्रवन्धक बस्नेतले जानकारी दिए ।

औद्योगिक क्षेत्रको २५ प्रतिशत क्षेत्रमा बृक्षारोपण गरी हरियाली बनाइने छ ।

बुटवल उपमहानगरपालिकाको वडा नं। १७, १८ र १९, तिलोत्तमा नगरपालिकाको वडा नं। ३, ४, ६, १३ र १४, सियारी गाउँपालिकाको वडा नं। ७ र शुद्धोधन गाउँपालिकाको वडा नं। ३ मा पर्ने तिनाउ नदीको वारी र पारीको नदी उकास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो ।

मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणमा निजी क्षेत्रको सहभागीतामा स्थानीइ समन्वय समिति समेत गठन गरेको छ । समितिको संयोजकमा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ रहेका छन् ।

‘यो रुपन्देहीको महत्वपूर्ण योजना हो’ उनले भने ‘यो औद्योगिक क्षेत्र स्थापनाले औद्योगिक क्रान्तिको थालनीसंगै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्