निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र भएर कलम चलाउन पत्रकारहरूलाई अध्यक्ष सुवेदीको सुझाव



भालुवाङ ८ वैशाख । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन सफल बनाउन पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको सहयोगमा बिहीबार देउखुरीको मसुरियामा आयोजित स्थानीय तह निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्षले स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारहरूले निष्पक्ष तथा स्वतन्त्र भएर कलम चलाउनु पर्ने बताए । उनले निर्वाचनका समयमा पत्रकारहरूले कुनै पार्टी विशेष नभई एक जिम्मेवार पत्रकार भएर समाचार सम्पेषण गर्न सुझाव दिए ।

अध्यक्ष सुवेदीले पत्रकारको सानो लापार्वाहीले समाजमा नकारात्मक सन्देश जाने र त्यसले व्यक्ति र समाजमा नै ठुलो असर पुर्‍याउने भएकोले सत्य तथ्य बुझेर मात्र समाचार लेख्न अनुरोध समेत गरे ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले निर्वाचनका समयमा पत्रकार र मिडियाले अपनाउनु पर्ने सावधानी, जिम्मेवारी तथा निर्वाचनमा पत्रकार आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले निर्वाचनका समयमा पत्रकारहरूले कसरी समाचार सङ्कलन, रिपोर्टिङ, समाचारका स्रोत लगायतका विषयमा प्रशिक्षण दिएका थिए भने राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता, आचारसंहिता कार्यान्वयनको अवस्था, आचारसंहिता उल्लघन गरेको खण्डमा हुने कारबाही लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मञ्चका सचिव भिसुन शाही र कोषाध्यक्ष अंशु बोहरा लगायतका बक्ताले यो सिकाई पत्रकारहरूका लागि एकदमै महत्त्वपूर्ण भएको बताएका थिए ।

मञ्चका प्रथम उपाध्यक्ष वासुदेव न्यौपानेले धन्यवाद गरेको कार्यक्रममा राप्ती गाउँपालिकामा क्रियाशील २० जना बढी पत्रकारहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्