आवासको सकसमा प्रदेश सरकार, गेष्टहाउस र आफन्तको वाँसमा प्रदेशसचिव



सैघाली खबर
बुटवल , ५ चैत । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको बीचमा पर्ने योगीकुटीको भित्री भागमा वन विभागको अनुसन्धान केन्द्र छ ।
वरिपरि पुराना काठका थुप्रा छन् । फराकिलो ठाउँ छ । सानो जङ्गलको बीचमा वन अनुसन्धान सर्वेक्षण विभागको सानो गेस्टहाउस छ । वर्षेदेखि खाली रहेको गेस्टहाउस अहिले भरिभराउ छ ।

यहाँ अहिले ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देल, उपसचिव सुरेन्द्र पङ्गेनी र अधिकृत विष्णु आचार्य बसेका छन् । बुटवलको सुख्खानगरमा रहेको थकाली होटलमा खाना खाने अनि सुत्न यही गेस्ट हाउस जाने गरेको १ महिना भयो । यो दैनिकीबाट उनीहरू थाकेका छन् ।

 

वन मन्त्रालयबाट सरुवा भएर ५ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी निर्वाह गर्न आएका सग्देलले निकै असजिलो मानेर बसेका छन् । अन्यत्र बस्ने ठाउँ कतै नपाएपछि वन मन्त्रालय अन्तर्गतको यो गेस्ट हाउसमा उनीहरू पुगेका हुन् ।

 

‘खासमा यो गेस्ट कोठा हो’, उपसचिव सुरेन्द्र पङ्गेनीले भने, ‘व्यवस्थित छैन । एक दुई दिनको लागि गेस्ट आउँदा राख्ने ठाउँ हो । हामी बसेको एक महिना भयो । अझै कति दिन हो, थाहा छैन ।’ उनीहरू बसेको ठाउँमा इन्टरनेट र फोनको सुविधा पनि छैन ।

चिया र खाजा पनि पाइँदैन । ‘यहाँ चिया खाजाको लागि पनि बाहिर जानुपर्ने अवस्था छ ।’ पोखरा घर भएका सिग्देल गुनासो गरे । उनीजस्तै गुनासो पोख्ने प्रदेश नम्बर ५ मा प्रायजसो सचिव नै छन् । प्रदेश नम्बर ५ मा ७ वटा मन्त्रालय छन् । मुख्य सचिवसहित ११ जना सचिव छन् ।

मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयमा सचिव दीपेन्द्र काफ्ले र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेम भट्टराई मङ्गलापुरमा रहेको कृषि तालिम केन्द्रको गेस्टहाउसमा बसेका छन् । यो भैरहवा र बुटवलको बीचमा पर्छ । मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्र काप्mले सुरुमा बुटवलको सञ्चयकोषको कार्यालय प्रमुख टोपराम पण्डितसँग बसे ।

उनीहरू दुवैजना पाल्पाको त्रिभुवन बहुमुखी क्यापसका सहपाठी भएकाले पण्डितले सञ्चयकोषको गेस्ट कोठामा राखेका थिए । ‘सञ्चयकोषको गेस्ट कोठामा हाकिमसँग १५, २० दिन बिताएँ । कति साथीको गेस्ट कोठामा बस्ने भनेर कृषि तालिम केन्द्रको गेस्ट हाउस पुगँे’ काफ्लेले भने ।

उनीसगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव प्रेमप्रसाद भट्टराई त्यहाँ बस्न लागेको २० दिन जति भयो । कापm्ले भूमि सुधार मन्त्रालयबाट ५ नम्बर प्रदेशमा माघ १८ गते आएका हुन् । उनले भने, ‘होटलमा पैसा तिरेर कति दिन बस्ने रु सुरुमा साथीको अफिसमा अथिति भएर बसियो । कृषि तालिम केन्द्रका बसेको पनि २० दिन भयो ।’ उनी बसेको गेस्ट हाउसबाट १८ किलोमटिर दूरीमा मन्त्रालय पर्छ ।

उनले भने, ‘अरूलाई समस्या हुँदैन । तर, यहाँ तालिम धेरै चल्ने भएकाले थुपै्र दिन राख्न नदिने मनसायमा गेस्ट हाउस सञ्चालक छन् ।’ थानेस्वर गौतम सडक विभागवाट ५ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा आएको १ महिना जति भयो । उनी सडक डिभिजन कार्यालयको साथीको ‘क्वाटरमा’ मिलेर बसेका छन् ।

 

साथीको गेस्टरुममा बसेको १ महिना भयो । मन्त्रालको तालिममा काठमाडौँ पुगेका गौतमले भने– ‘साथीको गेस्टरुममा बसेको छु । कति दिन बस्ने भन्ने अन्यौलमा छु ।’ उनले कम्तीमा सचिवस्तरका कर्मचारीको व्यवस्थापन हुने आशा व्यक्त गरे ।

भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयको सचिव यामनारायण देवकोटासहित तीन जनाले बुटवल कालिकानगरमा एउटा फ्ल्याट भाडामा लिएर बसेका छन् ।

नेपालगञ्जमा रहेको कृषि तालिम केन्द्रबाट यता प्रदेश सचिवमा आएका देवाकोटाको घर परासीमा छ । उनी बिदाको दिन घर जान्छन् ।

कालिकानगरमा रहेको फ्ल्याटमा उक्त मन्त्रालयका उपसचिव भक्तिराम मरासेनी, अधिकृत जीवन सुवेदीसहित बसेका छन् । ३ वटा कोठासहितको फ्ल्याटमा बस्ने उनीहरूको खाना चाहिँ बाहिर हुन्छ ।

एक महिनादेखि कृषि तालिम केन्द्रको गेस्टहाउसमा बसेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव प्रेमप्रसाद भट्टराईले गेस्टहाउस काम चलाउ भएको बताए । उनी सचिवहरूका लागि एउटा एउटा कोठा बनाउन थालिएको र त्यहाँ बस्न पाउने आशामा छन् । तर ढुक्क छैनन् ।

उनले भने, ‘योगीकुटी नयाँ बन्दैछ, हेरौँ के हुन्छ ?’ प्रदेशका मुख्यमन्त्री तथा कानुन मन्त्रालयका सचिव नमिला अधिकारी भट्टराई गृह मन्त्रलायबाट माघ २७ गते प्रदेश सचिवमा हाजिर भएकी हुन् । अन्य सचिवको भन्दा उनको बसाइ अलि सहज छ ।

अहिले बुटवलको सुख्खानगरमा भान्जाको घरमा बसेकी छन् । ‘सधैँ आफन्तको घरमा बस्ने कुरा हुँदैन ।’ उनले भनिन्, ‘बसाइ सहज नै छ । आशा गरौँ, कतै व्यवस्थापन होला ।’

उनीजस्तै आफन्तको घरमा बस्ने भौतिक पूर्वधार र विकास मन्त्रालयका सचिव मनोज श्रेष्ठ पनि हुुन् । अन्य सचिवको तुलनामा उनी अलि ढिला हाजिर भएका हुन् ।

श्रेष्ठ गोलपार्कका आफन्तको घरमा बसेका छन् ।

अरुण तेस्रो आयोजनाको निर्देशकबाट ५ नम्बर प्रदेशको भौतिक पूर्वधार र विकास मन्त्रालयकोे सचिवमा आएका हुन् । दुई हप्ताअघि मात्रै बुटवलमा आएका श्रेष्ठ आफन्तकोमा बसेको बताए ।
श्रेष्ठले भने, ‘सधैँ आफन्तको बस्न कठिन हुन्छ । हेरौँ, केही समयमा व्यवस्थापन होला नि ।’

सरकारले प्रदेश प्रमुख तोकेपछि ५ नम्बर प्रदेशमा सुरुमा आउने सचिवमा प्रदेश प्रमुखको कार्यालयका सचिव शनतकुमार दवाडी पर्छन् ।

उनी प्रदेश नम्बर ५ को प्रमुख उमाकान्त झासँगै माघ ६ गते बुटवल आएका हुन् ।

 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारीले प्रमुख झालाई सडक डिभिजन कार्यालयमा रहेको गेस्ट हाउसमा राख्ने व्यवस्था गरे ।

प्रमुखसँगै आएका सचिव दवाडीलाई त्यही नै राखिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट आएका दवाडीले सुरुका दुई–तीन दिन दिन–रात नभनी काम गरे । अहिले परिस्थित अलि सहज बनेको छ ।उनी अहिलेसम्म त्यही गेस्ट हाउसमा बसेका छन् । उनलाई गाडी दिइएको छैन । तर उनी सन्तुष्ट नै छन् । उनले  भने– ‘जे अवस्था छ, सन्तुष्ट नै छु । हामीले कठिन अवस्थामा आफ्नो ड्युटी निभाउने हो ।’

सङ्घीयता कार्यान्वयनको अवस्थामा आफूहरूले गरेको कामको कुनै दिन मूल्याङ्कन हुने उनले बताए । मुख्य सचिव शङ्कर पाठक चाहिँ रूपन्देहीका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको क्वाटरमा बसेका छन् । यो भैरहवाको रुद्रपथमा रहेको श्रीकृष्ण नेत्रालय पछाडि छ ।

मुख्य सचिव पाठक माघ पहिलो हप्तादेखि नै अधिकारीको क्वाटरमा बसेका हुन् । स्थानीय विकास अधिकारी ज्ञावलीको बुटवलको सुख्खानगरमा घर छ । उनी कहिले क्याटर त कहिले घर आउने जाने गरेका छन् । जसका कारण पाठकलाई अलि सहज छ ।

पाठक भन्छन्, ‘प्रदेशको मुख्यसचिव आफ्नो क्याटरमा बस्नु पर्ने हो । तर यहाँ एलडीओसँग मिलीजुली बसिएको लामो समय भयो । केही समयपछि व्यवस्थापन होला ।’

मुख्य सचिव पाठकको अहिले भैरहवा बुटवल २१ किलोमटिर दूरीमा आउजाउ चलिरहेको छ ।

 

क्वाटरको व्यवस्था हुँदै

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बुटवलमा केही सचिवहरूलाई क्वाटरका लागि व्यवस्थापन सरकारले गर्दै छ ।
खानेपानीको कार्यालय योेगीकुटीमाको कार्यालयभित्र रहेका ५ जना कर्मचारीलाई अन्यत्र पठाएर अहिले भवन मर्मत तथा सम्भार गरिँदै छ । दुई तले भवनमा ५, ६ जना सचिवको व्यवस्थापन गर्ने पक्षमा सरकार रहेको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्