गाई काटेको अभियोग लागेकालाई छुटाउन कानुन संशोधन गरिने गृहमन्त्रीको आश्वासन



गाई काटेको अभियोगमा मकवानपुरबाट पक्राउ परेका तामाङ समुदायका बन्दीहरुलाई बिनासर्त रिहाको माग सहित मन्त्रालय गएकाहरुलाई गृहमन्त्री रामबहादुर थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएका छन ।

गाई काटेको अभियोगमा मकवानपुरबाट पक्राउ परेका तामाङहरुलाई बिनासर्त रिहा गर्न नेपाल तामाङ घेदुङले माग गरेको छ ।
घेदुङको अगुवाईमा बिहीबार पुल्चोकस्थित मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
गाई काटेको अभियोगमा हेटौंड १२ पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी सिंगो तामाङ बस्तीलाई नै आतंकित हुने किसिमका गतिविधिहरु गरेको भन्दै घेदुङले आपत्ति समेत जनाएको छ ।
‘गाईको मासु खाएको आरोपमा गाउँका दर्जनौं मानिसहरु घर छाडेर हिँड्नुपर्ने अवस्था आएको र विचौलीयाहरुले स्थानीय पीडितहरुसँग पैसा माग्ने काम भइरहेको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, घेदुङका अध्यक्ष मोहन गोले तामाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तामाङ समुदायमा गाई–गोरुको मासु खाने चलन सदियौंदेखिको हो ।

स्थानीय समुदायमा राजनीतिक तथा व्यक्तिगत रिसइबीका कारण गाउँकै केही व्यक्तिले गाई काटेर खाएको आरोप लगाएर तामाङहरुलाई दुस्ख दिँदै आइरहेका छन् ।’

धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ-आफ्नो संस्कृति र धार्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने र आतंकित पार्ने गतिविधि बन्द गराई दीर्घकालीन समाधान खोज्न घेदुङले आग्रह गरेको छ ।
जवाफमा गृहमन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए ।

ध्यानकर्षण पत्र बुझाउन प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङ, माओवादी केन्द्रका नेता सूर्यमान दोङ, प्रदेश ३ का सांसद् ओम घलान, तामाङ घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, उपाध्यक्ष घिसिङ, महासचिव बाबु घिसिङलगायत पुल्चोक पुगेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्