मेरो मुख्य प्राथमिकता घोराहीलाई पाँच नम्वर प्रदेशको राजधानी बनाउने नै हो



नेपाली काग्रेसका तर्फबाट घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार भुपबहादुर डाँगीसंग सैघाली खबर डट कमका लागि पत्रकार पाण्डव शर्माले गरेको कुराकानीको सारसंक्षेप ःसम्पादक

bhupabahadur-dangi-.jpg 2

घोराही उपमहानगरपालिकाको मेयर पदमा तपाईको उम्मेदवारी किन ?
घोराही उपमहानगरपालिकालाई समृद्ध र भ्रष्टाचार मुक्त बनाउन मेरो उम्मेदवारी हो । मेरो व्यक्तिगत चाहना भन्दा पनि सिंगो नेपाली कांग्रेस र आम मतदाताको चाहना अनुरुप मैले उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारीबाट आम मतदाता उत्साहित भएका छन् । जनताको सेवा गर्ने मेरो प्रमुख उद्देश्य हो । घोराही उपमहानगरपालिकाका जनताले अहिले सस्तो लोकप्रियताको नारा नभएर काम खोजेका छन् । म गफ भन्दा कामलाई बढी विश्वास गर्छु । अहिले यो गर्छु वा यस्तो बनाउँछु भनेर जनतालाई झुटो आश्वासन दिन चाँहदैन । म जे बोल्छु त्यो गर्छु । गर्न नसक्ने चिजलाई म बोल्दैन  ।
यस क्षेत्रको विकासका लागि तपाई संग कस्ता योजना छन् ?
नेपाली कांग्रेसले आफ्नो घोषणपत्रमा स्पष्ट रुपमा विकासको खाका कोरिसकेको छ । मेरो मुख्य प्राथमिकता भनेको घोराहीलाई पाँच नम्वर प्रदेशको राजधानी बनाउने नै हो । यो अहिलेको सबैभन्दा प्राथमिकताको कुरा हो । त्यसैगरी १९ वटै वडालाई समट्ने गरी चक्रपथ निर्माण गरिने छ । सबै जसो ग्रामीण सडकहरुको कालोपत्रे गरिने छ । उपमहानगरपालिका भित्रका सबै खहरे खोलाहरुमा ड्याम बाँधेर जलाशय निर्माण गरिने छ । दाङ पर्यटनको हव बनाउन लुम्विनि र स्वर्गद्धावारीलाई जोड्न विशेष पहल थालिने छ । घोराहीमा रहेका पर्यटकीय गन्तव्य स्थलहरु धारपानी, बाह्र कुने दह, लगायतका पर्यटकीय क्षेत्रको संरक्षण गर्दैै पूर्वाधारमा आवश्यक लगानी गरिने छ । रिहार–होलेरी सडक निर्माणमा पहल गरिने छ । दाङ–प्यूठान सडकको कालोपत्रे गरिने छ । घोराहीका सबै वडामा कम्तिमा पाँच शैयाका सुविधासम्पन्न अस्पताल निर्माण गरिने छ । दैवि प्रकोप व्यवस्थापनका लागि उचित पहल गरिने छ ।

तपाई नै किन मेयर पदमा विजयी गराउने  ?
मुख्य कुरा मैले जनताका लागि कत्तिको काम गर्न सकेको छु भन्ने नै हो । म कहिले पनि नेता हुँ भन्दै ठूलो भएन । म सधै जनताको साथमा छु । विशेषतः २०४६ साल पछि पार्टीमा म निरन्तर काम गरिरहेको छु । पार्टीले पनि मेरो उचित मूल्यांकन गरेर टिकट दिएको छ । म जनताको कुरा सुन्ने मान्छे । जनताका सबै समस्या मलाई राम्रोसँग थाहा छ । जनताहरुलाई भै परि आउने मुद्दा  झैझगडा होस् अथवा प्रशासनमा परेका अप्ठेराको समाधान गर्न म निरन्तर खट्छु । मैले मेरो बारेमा धेरै भन्नु भन्दा पनि जनताले बुझिसक्नुभएको छ ।
मतदातालाई के भन्न चाहनुहुन्छ ?
म आम मतदातालाई एक पटक मलाई जनप्रतिनिधि भएर काम गर्ने मौका दिनुहोस् भन्न चाहन्छु । मुलुकको विकास र समृद्धिको प्रमुख नेतृत्व कर्ता भनेकै नेपाली कांग्रेस हो । नेपाली कांग्रेसको तर्फबाट १९ वटै वडाका उम्मेदवार तथा मेयर र उपमेयरलाई अत्यधिक मतका साथ विजयी गराउनुहोस् भन्न चाहन्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्