प्रदेश ५ मा एक अर्ब २ करोड ५ लाख 



सैघाली खखबर

बुटवल ३० चैत । प्रदेश नं. ५ को समग्र विकासकाले प्रदेश ५ सरकारको बजेट शुक्रबार सार्वजनिक गरेको छ । जसमा प्रदेश सरकारका लागि चाहिने कानुन कार्यविधि, संस्था, संरचना निर्माण र जनशक्ति व्यवस्था गर्ने मुख्य लक्ष्य रहेको छ । पहाड र तराईका अति पिछडिएका गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरी सक्षम बनाउने योजनासहित बजेट सार्वजानिक गरिएको छ ।

अस्थायी मुकाम बुटवलमा शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्रीको हैसियतमा मुख्यमन्त्री शंकर पोखरेलले एक अर्ब २ करोड ५ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् । कूल बजेटमध्ये चालु खर्चका लागि ३६ करोड, ६३ लाख ८२ हजार अर्थात् ३५ दशमलब ९० प्रतिशत विनियोजन भएको छ । पुँजीगततर्फ ३४ करोड ६ लाख ७५ हजार अर्थात् ३३ प्रतिशत छुट्याइएको छ । बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थात् ३० दशमलव ७१ प्रतिशत आगामी वर्षको बजेटमा समायोजन गर्ने गरी सञ्चित कोषमा राखिएको छ । सञ्चित कोषमा रहेको रकम तत्काल कुनै शीर्षकमा, तर चालु आर्थिक वर्ष सकिँदा केन्द्रलाई फर्काउन नपर्ने बजेट हो ।

विकास बजेटको अधिकांश हिस्सा प्रदेश कार्यालय व्यवस्थापन, मन्त्रालयको भौतिक व्यवस्थापन तथा कानुन निर्माणलगायतमा खर्च गरिने छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा २ करोड बजेट विनियोजन भएको भने प्राकृतिक प्रकोप विपद् कोष, सहकारी विकास कोष, कृषि, पशु र मत्स्य पालनमा अनुदान कोषका लागि एक, एक करोड विनियोजन भएको छ ।

लुम्बिनीमा पर्यटकको बसाइ बढाउन, रामग्रामदेखि लुम्बिनीदेखि तिलौराकोटसम्म मोनोरेलको सम्भाव्यता अध्ययन, सिद्धबाबाको पहिरो रोकथाम तथा बैकल्पिक मार्ग अध्ययन, महिला हिंसा तथा अन्धविश्वाश रोक्न अभियान चलाउन समेत बजेट विनियोजन भएको छ ।

बजेट सार्वजनिकपछि बोल्दै प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले भने अर्थविहिन बजेट झारा टार्न मात्रै आएको बताएका छन् । बजेट आजै मुख्यमन्त्री पोखरेलले संसद्‍मा टेबल गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्