शुरुभयो नेपाल-भारत-बंगलादेशबीच बससेवा, बिहीबार बस नेपाल आइपुग्ने



लक्ष्मी काफ्ले/ नेपाल-भारत र बंगलादेशबीच बस सेवा सुरु भएको छ । परीक्षणकालागि ढाकाबाट नेपाल ल्याईएका दुईवटा बस मंगलबारमात्र नेपालकालागि हिंडेका छन् ।

बंगलादेशको ढाकाबाट गुडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टामा आइपुगेका छन। नेपाल प्रवेशपछि बसमा सवार तीन देशका सरकारी कर्मचारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य लगायतले उनीहरूलाई स्वागत गरेका हुन् । बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका सात गरी ५७ अधिकारी छन् ।

ती बस सोमबार बिहान ८ बजे ढाकाबाट हिँडेका थिए । बस हिँड्नेबित्तिकै ढाकाको जाममा फस्दा आउन ढिला भएको एक नेपाली अधिकारीले बताए । बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो । पहिलो रात ढाकाको रंगपुरमा वास बसको थियो । दोस्रो रात भारतको सिलगुढीमा बसेको बस तेस्रो रात बुधबार सौराहामा बसेको छ ।

बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरूप त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो । सम्झौता भएको ३ वर्षपछि रुट परीक्षण सुरु गरिएको छ । ढाकाबाट छुटेका श्यामोली परिवहनका ती बस बिहीबार काठमाडौं पुग्नेछन् ।

भुटानले अझै यो सम्झौतामा हस्ताक्षर गरेको छैन । बिबिआइएन सम्झौता लगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेका रूपमा विकास गर्ने भन्दै स्तरोन्नति गरिरहेको छ ।

‘यो त ट्रायल रन मात्र हो, यसको प्रतिवेदनका आधारमा रुट कायम हुन्छ,’ नेपालका तर्फबाट टोलीमा सहभागी परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनालले भनिन्, ‘भुटानको संसदबाट अनुमोदन भएपछि मात्र सञ्चालनमा आउनेछ । सम्पूर्ण प्रक्रिया सकिन झन्डै ६ महिना लाग्न सक्छ ।’ यसरी सवारीसाधन सञ्चालन गर्न भारत, भुटान, बंगलादेश र नेपाल सरकारले संयुक्त रूपमा पहल गरेको टोलीमा सहभागी नेपाली प्रतिनिधि गोविन्द खरेलले बताए ।

‘तीनवटा मुलुकले सहमतिमा हस्ताक्षर गरिसकेपछि तीनवटै देशको संसदबाट अनुमोदन पनि भइसकेको छ,’ उनले भने, ‘भुटानले चाहिँ अनुमोदन गर्न केही प्रक्रिया बाँकी छ, तर भुटानले परीक्षण यात्राका लागि शुभेच्छा दिएको छ, पत्र पनि लेखेको छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्