दक्षिण एशियाकै नमूना सभाहल लुम्विनीमा शिलन्यास



सैघाली खबर
रुपन्देही , १७ वैशाख । दक्षिण एशियाकै नमूना सभाहल लुम्विनीमा बन्ने भएको छ । सोमवार सभाहलको शिलन्यास राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । सभाहलको शिलन्यासमा प्रधानमन्त्री केपी शर्मा वंलीको उपस्थितीमा राष्ट्रपति भण्डारीले शिलन्यास गर्नुभएको हो ।

२५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गरेकी हुन् ।

करिब ४० करोडको लागतमा ५ हजार जना अटाउन सक्ने सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ । यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ । सभा हलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ ।

हललाई आवश्यकताअनुसार सानो(ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराई बताउँछन् । सभाहल निर्माणको जिम्मा अनक÷अर्घाखाँची÷बाबुल जेभीले पाएका छन् ।

ओलीको सपना सार्थक हुँदै

दुई वर्षअघिको २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी र वर्षाले बिथोलिएको देखेपछि त्यतिबेलै प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए ।

प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो ।

लुम्बिनी विकास कोषले तीनहजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने यसैवर्ष बनाइसकेको छ । तीन करोड ९७ लाख रुपैयाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभा हलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना भएको छ ।

शिलान्यास गर्न प्रधानमन्त्रीले भ्याएनन्

यसअघि आइतबार नै प्रधानमन्त्री ओलीबाट सभा हलको शिलान्यास गर्ने कार्यक्रम थियो । तर, प्रधानमन्त्री ओली प्रदेश ५ को संसद बैठकमा विशेष सम्बोधन र लुम्बिनी विश्व विद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदा समय अभावका कारण शिलान्यास कार्यक्रम सोमबार सरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्