पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो



चितवन, असार ११ – शनिबार रातिदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो । यसअघि पहिरो पन्छाउन समय लाग्ने बताइएपनि झरी नपरेकाले छिटो भएको प्रहरीले जनाएको छ । शनिबार राति ९ बजेदेखि बाटो अवरुद्ध हुँदा यात्रुले सडक छेउछाउ र गाडी भित्र रात बिताए थिए । गएको शुक्रबार कालीखोलामा आएको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको ज्यान गएको थियो । हराइरहेका दुई प्रहरीको अझै अवस्था पत्ता लागेको छैन । सामान्य झरी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुन थाले पछि यो बाटो ओहारदोहोर गर्ने यात्रुहरु त्रसित बनेका छन् । आयोजनाले जोखिम बढेकाले वैकल्पिम मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ । यसैबिच यो सडकखण्डमा आइतबार दिउँसो पनि गाडी चलाउन दिइने भएको छ । सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजसम्म बाटो बन्द गरिने गरेकोमा रातिदेखिका गाडी रोकिदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । वर्षा लागेसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढेपछि त्यसको समाधानका लागि आइतबार बैठक पनि बस्दै छ । सुरक्षित यात्रा कसरी गराउने भन्ने बारे छलफल गर्न प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी, सडक आयोजनाका पदाधिकारी र यातायात व्यवसायी बैठकमा बस्ने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्