५० बर्ष लागेका पुरुषले अनिवार्य प्रोटेस्ट जचाउँनुस् : चिकित्सक ।।



सैघाली खबर/काठमाण्डौँ, २३ बैशाख।
५० वर्ष उमेर लागेपछि प्रत्येक पुरुषले प्रोटेस्ट (पुरुष यौन ग्रन्थी) जचाउन चिकित्सकले सुझाव दिएका छन् । वीर अस्पतालस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहप्राध्यापक डा. अनिल श्रेष्ठले उमेर बढेसँगै प्रोस्टेट बढेर पिसाब तथा मूत्रथैलीसम्बन्धी विभिन्न समस्या हुने भएकाले त्यसको जाँच गरेर समस्याबाट छुटकारा पाउन सुझाव दिएका हुन् ।

डा. इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा भक्तपुर उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिको आयोजनामा भक्तपुरमा भएको प्रोस्टेटसम्बन्धी अन्तक्र्रियामा डाक्टर श्रेष्ठले उमेरसँगै प्रोस्टेट बढ्ने प्राकृतिक नियम भएकाले यसको वृद्धि रोक्ने कुनै औषधि नभएकाले ५० वर्ष उमेर लागेपछि प्रोस्टेट जाँच गराउन सुझाव दिएका हुन् ।

वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्टसमेत रहेका उनले मूत्रनली प्रोस्टेटको भित्र हुने भएकाले यो बढ्दा मूत्रनली च्यापिने जानकारी दिए । ‘प्रोस्टेट बढेपछि यसभित्र हुने मूत्रनली च्यापिन्छ । जसले गर्दा हामीलाई मूत्रत्याग गर्न समस्या हुन्छ’, डा. श्रेष्ठले थपे, ‘यसले प्रोस्टेटको संक्रमणदेखि क्यान्सरसम्म हुन सक्छ । मूत्रथैलीमा समेत समस्या गर्न सक्छ ।’

प्रोस्टेट बढ्ने समस्याबारे करिब एक घण्टा बोलेका उनले पुरुषीय हार्मोनको वृद्धि र वंशाणुगले पनि प्रोस्टेट बढेर समस्या हुने जानकारी दिए । प्रोस्टेट बढे पनि केहीलाई कुनै समस्या नहुन सक्छ । तर समस्या हुनेलाई तत्काल उपचार गर्न सकिएन भने निकै पीडादायी हुने उनले बताएका छन् । उनका अनुसार छिटोछिटो पिसाब लाग्ने, राती बढी पिसाब लाग्ने, पिसाब लागेपछि रोक्न नसकिने भए यी प्रोस्टेटको समस्याका लक्षण हुन् ।

त्यस्तै पिसाबको धारा मसिनो हुने, पिसाब रोकी रोकी आउने, पिसाब गर्न कन्नसपर्ने तथा पिसाब फेर्दा पूरा नआई बाँकी भएको जस्तो लाग्ने लक्षण देखिए प्रोस्टेट बढेर मूत्रनली च्यापिएको हुन सक्ने उनी बताउँछन् । उनले प्रोस्टेट बढेकोलाई समयमै उपचार नगरिए यो क्षयरोग र क्यान्सरसम्म हुन सक्ने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्