सुन तस्करी र हत्या प्रकरणमा थप ५ जनाको बयान लिइँदै , १० आरोपीको बयान बाँकी



सैघाली खबर

विराटनगर , २४ वैशाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका आरोपीमध्ये सोमबार थप ५ जनाको बयान लिन सुरु गरिएको छ । जिल्ला अदालत मोरङमा उनीहरुको बयान लिने काम भइरहेको छ । यीसहित बयानमा सलग्न अभियुक्तहरुको संख्या २० पुगेको छ । अब अरु १० जनाको बयान लिन बाँकी छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा भइरहेको बयान प्रक्रियाअनुसार आइतबारसम्म १४ जनाको बयान सकिएको थियो । आइतबार बयान पूरा हुन नसकिएपछि एकजनाको सोमबार बयान जारी राखेको हो ।

बयान सकिनेमा शाक्य हत्या प्रकरणका मुख्य प्रतिवादी राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्कीका छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठसहित प्रहरी नायब निरीक्षक बालकृष्ण सन्जेलको बयान सकिएको छ ।

यसअघि लिइएको बयानमा आरोपीहरुले प्रहरीमा दिएको बयानभन्दा फरक विवरण अदालतसमक्ष दिएका छन् । प्रहरीमा र जिल्ला अदालतमा दिएको बयानमा तालमेल देखिदैन । प्रहरीले जिल्ला अदालतमा प्रस्तुत गरेको अभियोगपत्रमा उल्लेख भएको विवरणभन्दा फरक कुरा उनीहरुले अदालतसमक्ष बताएको कानुन व्यवसायीहरुले बताएका छन् ।

अदालतले अभियुक्तहरुको बयान गत बिहीबारदेखि बयान लिन सुरु गरेको थियो । सबैको बयान सकिएपछि थुनछेकको बहस सुरु गर्ने तयारी अदालतको छ । यो बहसका लागि कानुन व्यवसायीद्वारा ‘वकालतनामा’ दर्ता गराउन थालेका छन् ।

मोरङ प्रहरीले नियन्त्रणमा रहेका ३० जनासहित फरार भनिएका ३३ गरी ६३ जनाविरुद्ध जिल्ला न्यायधिवक्ताको कार्यालयमा अभियोगपत्र बुझाएको थियो । न्यायाधिवक्ताको कार्यालयले गत वुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्