किन कब्जा गरियो विवेकशील-साझा पार्टीको कार्यालय ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कष्टकर नाकाबन्दी सम्झाउँदै विरोध गर्दा रवीन्द्र मिश्रको पार्टी विवेकशील साझाको कार्यालयमा प्रहरीले छापा मारेको छ । मोदी जनकपुरबाट काठमाडौं आउनै लाग्दा विरोध झल्किने व्यानर कार्यालयमा राखिएपछि प्रहरीले गृह मन्त्रालयको निर्देशनमा एक्सन लिएको हो ।

नाकाबन्दी अपराध हो मिस्टर मोदी भन्ने नाराका साथ सामाजिक संजालमा भारतीय प्रमले माफी माग्नु पर्ने आवाज उठिरहेक बेला विवेकशील साझा पार्टीले बखुन्डोल स्थित आफ्नो कार्यालयमा  ‘मोदी जी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौ’ भन्ने वाक्य लेखेर राखेको ब्यानर प्रहरीले च्यातेर निकालेको छ ।

ब्यानरमा दुर्इ बर्षअघिको भारतीय नाकाबन्दीको बिरोध जनाइएको छ । उक्त व्यानर प्रहरीले जबर्जस्ती निकालेर लगेको बिवेकशील साझा पार्टीले जनाएको छ।

नाकाबन्दी लेखिएको तुल हटाउनु चाकडीको भद्दा नमूना : बाबुराम

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विवेकशील साझा पार्टीले नाकबन्दी सम्झाउँदै कार्यालयमा टाँगेको तुल प्रहरीले हटाउनु चाकडी प्रदर्शनको भद्दा नमूना भएको बताएका छन्।

शुक्रबार विवेकशील साझाले  ‘मोदी जी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौँ,’ लेखिएको तुल टाँगेपछि  प्रहरीले झिकिदिएको थियो ।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले ट्वीटर मार्फत उक्त कार्य अधिनायकवाद र  भारतप्रति देखाएको चाकडीको नमूना भएको बताएका हुन।

‘विधिवत् दर्ता भएको कुनै राजनीतिक दलले देशको संविधान र कानून विपरित नहुने अभिव्यक्ति बोलेर, लेखेर, तुल टांगेर वा अन्य कुनै प्रकारले गर्दा त्यसलाई राज्यले बल प्रयोग गरेर रोक्नु अधिनायकवाद वा कसैप्रति चाकडी प्रदर्शनकै भद्दा नमूना हो। त्यसको सबैले प्रतिवाद गरौं!’ उनले ट्विटरमा लेखेका छन्।

नेपाली कांग्रेस नेता गगन थापाले पनि सामाजिक सञ्जाल मार्फत् विवेकशीलले टाँगेको तुल झिक्नु निन्दनीय भएको बताएका थिए ।

विवेकशील साझा पार्टीले  नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साढे दुई वर्षअघि लगाएको नाकाबन्दी सम्झाउँदै तुल टाँगेको थियो।

तुल प्रहरीले झिकिदिएपछि ‘मोदी जी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,’ लेखिएको बेलुन काठमाडौंको आकाशमा उडाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्