अरुलाई सिंगडा बेच्न गएको भन्ने आफू चाहिं के बेच्न गएको ?



काठमाडौं–
सोमबार प्रतिनिधि सभामा बोल्दै काङ्ग्रेस युवा नेता गगन थापाले ओली सरकारलाई लम्पसारवादी भएको आरोप लगाएका छन् ।

नाकाबन्दी बारे भारतसँग कुरा गरेका यसअघिका पूर्व दुई प्रधानमन्त्रीलाई ओलीले कसैलाई सिंगडा बेच्न गएको र कसैलाई घुँडा टेक्न गएको भनेर टिप्पणी गरेको तर अहिले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा तामझाम देखाएर महालम्पसारवादी बनेको आरोप लगाएको आजको नागरिक न्यूजमा छापिएको छ ।

थापाले निर्वाचनका बेला भारतविरुद्ध कडा बनेर भोट बटुलेका ओलीको आज ध्वनी फेरिएको दावी गरे। राष्टहीत विपरित कुनैपनि काम न गरेको जानकारी ओलीले संसदलाई दिंइरहँदा गगनले प्रश्न गरे, ‘न सडकमा कसैले भनेको थियो, न संसदमा कसैले सोधेको थियो । यो हिनतावोध किन ?’ संसदमा गगनले आफ्नो सम्बोधनका क्रममा प्रश्नै प्रश्नको झटारो हानेका थिए ।।

२ नम्बरप्रदेशको मुख्य मन्त्रीलाई तालिम दिने कुरा गर्नेहरुलाई चुनौती दिंदै उनले संविधानले परराष्ट्र नीतिको सन्दर्भमा प्रदेशको मुख्य मन्त्रीलाई नचिन्ने ठोकुवा गरे ।

उनले परराष्ट्र मन्त्रीलाई संविधानले चिन्ने तर उहाँ सालिन हुनुहुन्छ, शालिन मात्र पुग्दैन बरु आफ्नो जिम्मेवारी पुरा गर्न परराष्ट्र मन्त्रीलाई नै तालिम दिनु पर्ने धारणा अघि सारे । उनको भाषणको पूर्णपाठ:

सभामुख महोदय,
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बारेमा नेपाल र भारतका सञ्चार माध्यमहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् । कर्नाटकको चुनावसँग पनि मोदीको भ्रमणलाई जोडेका छन् । कतिले चीनको बढ्दो प्रभावका बारेमा जोडेका छन् । मलाई मोदीको भ्रमणका बारेमा गरिएका टिप्पणीहरुमा कुनै चासो छैन । प्रधानमन्त्री मोदी स्वयंले भन्नु भएको छ, यो मेरो तीर्थयात्रा हो । तीर्थयात्रा सफल भएको छ । हामी नेपाल र भारतको सम्बन्ध सुमधुर होस् भन्ने चाहन्छौं । प्रधानमन्त्रीस्तरको भ्रमण त्यस कारणले गर्दा हामीलाई खुशी लाग्ने कुरा नै हो ।

मेरो चासो मेरो प्रधानमन्त्रीका बारेमा हो । म सम्झन्छु सभामुख महोदय, विश्वासको मत लिंदै गर्दा रोष्ट्रममा उभिएर गर्जिनुभएको मेरो प्रधानमन्त्री र हिजो –प्रतिनिधि सभाको बैठकमा मोदी भ्रमणबारे जानकारी दिंदै गर्दा) केही लुकाउन, छोप्न शब्द खोज्दै गरेको मेरो प्रधानमन्त्री देखें । प्रधानमन्त्री गर्जिनुभएको त्यो दिन सम्झें मैले । तर मलाई अचम्म लागेन । गर्जने बादल बर्सदैन भन्ने मलाई राम्रैसँग थाहा छ । प्रधानमन्त्रीले भन्नुभयो, देश हित विपरित कुनै पनि काम गरेको छैन । कस्ले भनेको थियो? न सडकमा कसैले भनेको थियो, न संसदमा कसैले भनेको थियो । यो हिनतावोध किन? (भारतीय नाकाबन्दी पछि) प्रधानमन्त्री ओली भन्दा पहिलापनि दुइटा प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले भारतको प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो । तर हिजो त्यही कुराकानी गर्दैगर्दाखेरी कसैलाई सिंगडा बेच्न गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनेर भनियो । आफूले गर्दा पुण्य अर्काले गर्दा पाप !

वीपी कोइरालाले भारतसँगको सम्बन्धका बारेमा भन्नुभयो, ‘न संघर्ष न समर्पण।’ त्यही गरेवापत राजा महेन्द्रले वीपीलाई हटाउन भारत सरकारलाई चिठी लेख्नुभयो, कालापानीमा भारतीय सेना राख्न मौन स्वीकृति दिनुभयो ।

सुशिल कोइरालाको अडानका बीचमा संविधान आयो । त्यही अडानले गर्दा नाकाबन्दी लगाइयो । त्यही सुशील कोइरालालाई लम्पसारवादी भन्ने? आज नेपाल भित्र भारतको सेना किन आयो भन्ने प्रश्न गर्दा सत्तासिन पार्टीको एकजना माननिय उठेर भन्दै हुनुहुन्छ, नेपालको सरकारले सुरक्षा दिन सकेन । मेयरको सुरक्षा दिन सकेन । यस्लाई दिन सकेन, त्यसकारण दिन सकेन ।  त्यसैले भारतको सेना नेपाल आएको हो ।  कतै त्यही कालापानी दोहोर्याउन खोजिएको त हैन, हाम्रो प्रश्न छ ।
सम्माननिय सभामुख महोदय, हिजो कुनै बेला नेपालको निमन्त्रणामा भारतको राष्ट्रपति आउँदै गर्दा, म सम्झनु, तत्कालिन नेकपा एमालेको अध्यक्षले भन्नुभएको थियो, भ्रमण ठिक छ । तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ । मेरो परिभाषा हैन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने ?
सम्माननीय सभामुख महोदय, हिजो भनिएका कुराहरु म सम्झन्छु, अनि प्रधानमन्त्रीले यही रोष्ट्रमबाट भन्नुभएका कुराहरु पनि ।  प्रधानमन्त्रीले जिम्मा लिएर भन्नुभएको छ, अब भारतले नेपालमा कहिल्यै पनि नाकाबन्दी गर्दैन । हिजो भारतसँग कुराकानी गर्नुपर्छ भन्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भन्नुभएको थियो । हिजो रोष्ट्रममा उभिएर भारतको जिम्मा लिएर बोल्ने प्रधानमन्त्रीलाई मैले सोध्न पाउने कि नपाउने, हिजो घाउ भयो तपाईले भन्नुभएको हो, तपाईको घुँडामा भ्वाँग पर्र्यो कि परेन भनेर मैले सोध्न पाउने कि नपाउने?

सभामुख महोदय,  प्रदेश २ को बारेमा चर्चा भएको छ । हो, पाकिस्तानको कुनै प्रधानमन्त्रीले भारतको कुनै प्रान्तको भ्रमण गर्दा त्यहाँका मुख्यमन्त्रीले यहाँका मुसलमानमाथि विभेद भएको छ  भनेर सुनाउँदैनन् । भन्दैनन् । यो कृत्य निन्दनीय छ, आपत्तीजनक छ । तर यो भन्दैमा यो कुरा विर्सन हुँदैन, प्रदेश २ को मुख्य मन्त्रीलाई तालिम दिने कुरा गर्नेहरुले एउटा कुरा नविर्सनुस्, हाम्रो संविधानले परराष्ट्र नीतिको सन्दर्भमा प्रदेशको मुख्य मन्त्रीलाई चिन्दैन । परराष्ट्र मन्त्रीलाई चिन्छ । माननीय  परराष्ट्रमन्त्री सालिन हुनुहुन्छ । तर शालिन मात्र भएर हुँदैन । आफ्नो जिम्मेवारी पुरा गर्न परराष्ट्र मन्त्रीलाई नै तालिम दिनुपर्यो भनेर हामीले भन्ने कि नभन्ने? त्यो तालिम परराष्ट्रमन्त्रीलाई चाहिएको छ भनेर भन्न पाउने कि नपाउने?

सभामुख महोदय,
नेपाल इज अ डेमोक्रेसी । भोल्टेयरको यो भनाईलाई हामी मन्त्र जस्तो मान्छौ । तपाई मसँग असहमत हुन सक्नुहुन्छ । म सँग असहमत हुन पाउने अधिकारका निम्ती रगतको अन्तिम थोपा रहेसम्म र जीवनको अन्तिम क्षणसम्म लडिरहने छु ।

 हिजो नेपाल कम्युनिष्ट पार्टी एमालेका साथीहरुले युवकहरुले भारतीय राजदूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने? तर आज कसैले आफ्नो पार्टी कार्यालयमा ब्यानर राख्न नपाउने? कोही पत्रकारले कार्यक्रममा प्रवेश गर्न नपाउने? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने? यो कस्तो लम्पसारवाद हो ।

यो कस्तो चाकडी हो ? यो सरकारको कस्तो व्यवहार हो आफ्ना नागरिक प्रति?त्यसैले सभामुख मार्फत मेरो आग्रह छ, कुनैपनि आरोप हैन, मैले स्वयं प्रधानमन्त्री महोदयलाई हिजो चुनावको प्रचार प्रसार भरि देशैभरि मैले मात्रै राष्ट्रवादको जिम्मा लिएको छु बाँकी रहेका सबै पार्टीका सबै नेता नेपाल बेच्न उद्दत छन् भनेर भन्नुभएको त्यही क्षण सम्झाएको छु ।

हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो, आज नाङ्गै हिड्नुभएको हामीले देखाउनु परेको छ । त्यसैले बेला आयो अब यसलाई चुनावको विषय नबनाऔं, यसलाई सँधैभरी घरभित्रको भोटको विषय नबनाऔं । नेपालको भारत र चीनसँगको सम्बन्धका बारेमा साझा दृष्टिकोण बनाऔ सरकारमा रहेपनि प्रतिपक्षमा रहेपनि एक ढिक्का बनौं । अनि बल्ल नेपालले तीर्थ यात्रा होला वा मित्रयात्रा होला लाभ लिन सक्छ। धन्यवाद । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्