जन्डिस रोग कसरी हुन्छ ? यसबाट बच्न के गर्नु पर्छ ?



रगतमा बिलिरुबिन भन्ने पदार्थ सामान्य भन्दा बढी भएमा शरीरको छाला, आँखा पहेलो हुनुलाई जन्डिस भएको भनिन्छ । यही बिलिरुबिनको कारणले नै शरीर पहेलो देखिएको हो।

साधारणतया रगतमा बिलिरुबिनको मात्रा, जम्मा बिलिरुबिन को १ मिलीग्राम र डेसीलिटर भन्दा कम हुन्छ र डाइरेक्ट बिलिरुबिनको मात्रा ०.३ मिलीग्राम र डेसीलिटर भन्दा कम हुन्छ। अब प्रश्न आउँछ, यो बिलिरुबिन शरीर भित्र कसरी आउँछ, किन यसको मात्रा बढ्छ, कसरी यो बढ्नलाई रोक्न सकिन्छ, कसरी यसको उपचार गर्न सकिन्छ शरीरमा बिलिरुबिन कसरी बन्छ ?

हाम्रो शरीर नाङो आँखाले देख्न नसकिने स सानो जीवित कोसहरु मिलेर बनेको हुन्छ । ती कोसहरुको एउटा निश्चित आयु हुन्छ । हाम्रो शरिरका रक्तनलीहरुमा बग्ने रगतमा पनि थुप्रै किसिमका कोसहरु हुन्छन्, जस्मा एउटा रातो रक्तकोस हो । यसको आयु साधारणतः १२० दिन हुन्छ ।

आफ्नो आयु पूरा भएपछि यी राता रक्तकोसहरु मर्छन र यस्मा भएको हेमोग्लोबिन (जसले अक्सिजन बोक्ने काम गर्छ) बाट आइरन तत्व छुटिन्छ, अनि बाँकी भएको भागबाट बिलिरुबिन बन्छ । यो सबै प्रकिया शरीरको देब्रे फोक्सोको मुनि, करङहरु भित्र रहने अङ फियोमा हुन्छ । त्यसपछी पहिलो पदार्थ बिलिरुबिन रगतमा आउँछ।

त्यसलाई इनडाइरेक्ट बिलिरुबिन वा अनकन्जुगेटेड बिलिरुबिन भनिन्छ, जुन पानीमा नघुल्ने हुन्छ (मतलब यसलाई दिसापिसाबमा शरीर बाहिर फ्याल्न सकिदैंन)। त्यसपछी कलेजो (जुन शरीरको दाहिने फोक्सो मुनि, करङहरु भित्र हुन्छ)ले उक्त बिलिरुबिनलाई बिभिन्न इन्जाइमहरुको मद्दतले पानीमा घुल्न सक्ने वा डाइरेक्ट वा कन्जुगेटेड बिलिरुबिन बनाउँछ ।

त्यो कन्जुगेटेड बिलिरुबिन पित्तको रुपमा पित्त थैलीमा जम्मा हुन्छ र दिसापिसाबमा शरीर बाहिर फालिन्छ । विभिन्न रोगहरुमा कुनैमा डाइरेक्ट, कुनैमा इनडाइरेक्ट बिलिरुबिन र कुनैमा दुबैको मात्रा बढ्ने हुन्छ । यी सबै रोगहरुमा छाला, आँखा पहेलो देखिने भए पनि अरु लक्षणहरु फरक पर्ने हुन्छ ।
यसरी सामान्य रुपमा राता रक्तकोसहरु मरेर त्यसको हेमोग्लोबिनबाट बिलिरुबिन बन्छ, जुन दिसा पिसाबबाट शरीर बाहिर फालिन्छ ।
बिलिरुबिनको मात्रा शरीरमा किन बढ्छ ?
यो माथि भनिएको बिलिरुबिन बन्ने, जम्मा हुने र फ्याकिने सामान्य प्रक्रियाको कुनै पनि भागमा गडबडी भयो भने शरीरमा बिलिरुबिनको मात्रा बढेर जान्छ।
जस्तैः
क. सामान्य भन्दा धेरै मात्रामा राता रक्तकोसहरु मर्दा (जुन हेमोलाइटिक एनेमिया भनिने रोगहरुमा हुन्छ।)

ख. कलेजोको खराबी भएमा (जुन हेपाटाइटिस रोगमा, बढी रक्सी सेवन गर्नाले, कलेजोको क्यान्सर आदि रोगहरुमा हुनसक्छ।),

ग. पित्त थैलीबाट पित्त बाहिर जाने बाटोमा कुनै रोकावट भएमा (जुन पित्त थैलीको नलीमा ढुङ्गा भएमा, वा मासु पलाएमा हुन्छ।)
जन्डिसले गर्दा के के समस्याहरु आउन सक्छन ?

नवजात शिशुहरुमा हुने जन्डिस बाहेक अन्य जन्डिस स्वयम आफैले प्रायः केही समस्या दिदैन। जन्डिस एउटा लक्षण मात्र भएकोले यो थुप्रै रोगहरुमा देखिन सक्छ र समस्या जन्डिसले नभै ती रोगहरुको कारणले गर्दा देखिन्छ । जन्डिसकै कारणले चाँही छाला, आँखा पहेलो हुने, छाला चिलाउने, पिसाब पहेलो हुने, दिसा सेतो रंग हुने आदि हुनसक्छ । अन्यथा जन्डिस गराउने रोगहरुको कारणले विभिन्न समस्याहरु देखिन सक्छ ।

जस्तैः यदि हेपाटाइटिसको कारणले जन्डिस देखिएको हो भने ज्वरो आउने, खाना नरुच्ने, वान्ता हुने, पेट दुख्ने आदि हुन सक्छ । यो जन्डिसले गर्दा नभएर हेपाटाइटिस भाइरसको सन्क्रमणको कारणले कलेजोमा खराबी हुनाले हुन्छ । त्यस्तै अत्यधिक जाडरक्सी सेवनले कलेजोमा खराबी देखिएर जन्डिस देखिएको हो भने पेट भित्र पानी जम्ने, पेट सुन्निने, रगत वान्ता हुने आदि हुनसक्छ । यी सबै जाडरक्सीले कलेजोको खराबीको कारणले देखिने समस्याहरु हुन् न की जन्डिसले गर्दा देखिने समस्या ।

जन्डिस लक्षण देखिने प्रमुख कारण र रोगहरु के के हुन ?

जन्डिस देखिने अवस्था र रोगहरुलाई माथि भनिए जस्तै गरि ३ प्रकारमा बाढ्न सकिन्छ।

१ बिलिरुबिनको बन्ने प्रक्रिया सामान्य भन्दा बढी हुने अवस्थाहरुः राता रक्तकोसहरु बढी मात्रामा मर्ने रोगहरु (हेमोलाइटिक एनेमिया)
२ कलेजोमा खराबी हुने अवस्थाहरुः अत्यधिक जाड,रक्सी सेवनले कलेजोमा हुने खराबी हेपाटाइटिस ए, बी, सी, डी, ई, कलेजोको वंशाणुगत रोगहरु, औषधीहरुको असरले गर्दा
३ पित्त थैलीको नलीमा रोकावत हुने अवस्थाहरुः पत्थरीको कारणले, क्यान्सर आदि

जन्डिसको उपचार के हो ?

शरीरमा बिलिरुबिनको मात्रा माथि भनिएको भन्दा बढी भएमा जन्डिस हुन्छ। तर रगतमा बिलिरुबिनको मात्रा देखिदैमा आत्ति हाल्नु पर्ने, उपचार गरिहाल्नु पर्ने हुँदैन । किनभने जन्डिस आफैले केही अवस्था बाहेक खास हानी गर्दैन र जन्डिस आफैको उपचार पनि हुदैन । बरु यो किन देखिएको हो, कुन रोगको कारणले देखिएको हो पत्ता लगार्इ त्यो रोगको उपचार गर्नुपर्छ ।

काठमान्डौ लगायतका शहरहरुमा गर्मी, वर्षाको समयमा देखिने जन्डिस प्रायः हेपाटाइटिस ए को कारणले गर्दा हुन्छ । यो रोग पानी र खानाबाट सर्छ । यो रोगले कलेजोमा लामो समयसम्म असार गर्दैन र धेरैमा त केही लक्षण पनि देखिदैन। यो रोगको खास उपचार केही हुदैन र केही समयपछी आफै ठीक हुन्छ ।
जाड, रक्सीको अधिक सेवनले कलेजो बिग्रेर जन्डिस देखिएको हो भने जाड, रक्सी सेवन बन्द गर्नुको साथै अन्य विभिन्न उपचार गर्नुपर्ने हुन्छ।
कसै कसैमा शारिरिक तनाव बढी हुँदा, ज्वरो आउँदा, अन्य सन्क्रमण हुँदा सामान्य जन्डिस देखिने हुन्छ, यो गिलबर्ट सिन्ड्रोम भन्ने रोगले गर्दा हुन्छ । यसमा कलेजोको एउटा इन्जाइमको मात्रा वंशाण्गतरुपमै कम हुन्छ ।

यो त्यस्तो डरलाग्दो रोग हैन र यसको उपचार पनि गरिरहनु पर्दैन तर जन्डिस देखिने अन्य धेरै रोगहरुसँग झुक्किने भएकोले यो रोग पत्ता लाग्न गाह्रो हुन्छ । क्यान्सर, पत्थरीले गर्दा जन्डिस देखिएको भए त्यहि अनुसार उपचार गर्नुपर्छ।
समग्रमा, जन्डिसको उपचार भनेको जन्डिसको कारणको उपचार हो। healthy nepal

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्