सैघाली खबर,
काठमाडौँ २ जेठ । कुनै अप्रत्यासित घटना भएन भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भोली बिहीबार नै पार्टी एकता हुने भएको छ । पार्टी एकताका लागि दुवै दल आन्तरिक तयारीमा जुटिसकेका छन् ।
यसैको तयारीका लागि एमालेले आज दिउँसो ४ बजे स्थायी समिति र भोली बिहान ११ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको भने माओवादीले पनि आज ४ बजे नै केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । दुई पार्टीको बैठकमा एकताका अनुमोदन गराउने तयारी भएको छ ।
मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका हुन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । भण्डारीको स्मृतिमा भोली बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ विशेष वक्ताको रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनेछन् ।
भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, ११ बजे एमालेको केन्द्रीय समिति बैठक बस्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत पार्टी एकताको घोषणा गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।