टायरलाई प्रशोधन गरि घरायसी सामान निर्माण ।।



सैघाली खबर/म्याग्दी, ३ जेठ।
विदेशबाट फर्किएका युवाले वातावरण प्रदूषण कम गर्न काम नलाग्ने टायरलाई प्रशोधन गरेर घरायसी सामान निर्माण गर्ने उद्योग सञ्चालन गरेका छन् । जलजला गाउँपालिका–३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका–२ भगवतीका सुगम खत्री र डेनिश थापाले टायरबाट हस्तकलाका सामग्रीसँगै घर, रेष्टुराँ, बगैँचा र होमस्टेका लागि सजावटका सामग्री निर्माण गर्ने उद्योग सञ्चालन गरेका हुन् ।

जलजला–८ लस्तीमा १० रोपनी जग्गा भाडामा लिएर स्थापना गरिएको ‘ढिकी जाँतो हस्तकला’ उद्योगबाट सवारी साधनका काम नलाग्ने टायर प्रशोधन गरेर टी टेबल, डायनिङ टेबल, कुर्ची, ¥याक, बच्चाका कुर्ची, टेबल, ऐना, मुडा, गमला तथा विभिन्न सजावटका सामग्री निर्माण गरिँदैआएको छ । खेर जाने टायरलाई प्रशोधन गरी उत्पादन गरिएका सामानलाई घाम र पानीले असर नगर्ने सञ्चालक खत्री बताउछन् ।

चार वर्ष जापानमा रहँदा टायर प्रशोधन उद्योगमै काम गर्ने अवसर पाएका केसीले त्यहाँ सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी उद्योग सञ्चालन गरेको बताएका छन् । उद्योग स्थापना गर्न हालसम्म ७० लाख खर्च भएको छ । टायरसँगै बाँसलगायतका अन्य कच्चा पदार्थबाट समेत हस्तकलाका सामान बनाउने गरी उद्योगको क्षमता विस्तार गर्ने योजना रहेको सञ्चालकले बताएका छन् । अहिले उक्त उद्योगमा टायरबाट बनाइएका १५ प्रकारका सामग्रीलाई बजारीकरण गर्न बेनीको शिक्षा मार्गमा बिक्री कक्ष स्थापना गरिएको छ ।

गुणस्तरीय र टिकाउसँगै आकर्षकसमेत हुने भएपछि अहिले विभिन्न क्षेत्रबाट टायरबाट निर्मित कुर्ची, टेबुल, मुडा, गमलालगायतका सामग्रीको माग बढ्दो छ । नकुहिने रबर र टायरबाट कुर्ची, टेबुललगायत सजावटको सामग्री निर्माण गर्न सकिने नयाँ प्रविधिको प्रयोग गरिएको यस उद्योगले वातावरण संरक्षणमा समेत योगदान पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्