गणतन्त्रः उच्च पद, ओहोदा र वर्गका मानिसलाई मात्र फलदायी



रामबहादुर थापा

बागलुङ, १५ जेठ
मुलुकमा गणतन्त्र आएको एक दशक नाघिसकेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपी पूरा हुन बाँकी छन । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा तीनै तहको निर्वाचन हुनु गणतन्त्रमा भएका सुखद् घटना हुन । ठूलो संघर्ष र बलिदानको जगमा प्राप्त गणतन्त्र संस्थागत हुने बाटामा छ ।

नागरिक समाज बागलुङका संयोजक काजीगाउँले श्रेष्ठ सामान्य नेपालीले गणतन्त्रको अनुभूति गर्न नपाएका बताउँछन् । “न्यूनतम भए पनि जनमुखी कार्यक्रम ल्याउनुपर्छ,” उनले भने, “नागरिकलाई गणतन्त्र आएको महसुस गराउनुपर्छ ।” उनले उच्च पद, ओहोदा र वर्गका मानिसलाई मात्र गणतन्त्र फलदायी भएको टिप्पणी गरे । नागरिकको जीवन व्यवहारमा गणतन्त्र लागु हुन बाँकी नै रहेको उनको भनाइ छ ।

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती आशामुखी छन् । “गणतन्त्रकै कारण आज हामी यो ठाउँ र भूमिकामा छौँ”, उनले भने, “गाउँमै बसेर सरकार चलाएका छौँ ।” उनी जनताले लडेर ल्याएको गणतन्त्र अहिले फक्रने क्रममा रहेको बताउँछन् ।

“बजेट, योजना बनाउनेदेखि ऐन, कानून बनाउनेसम्म सबै काम स्थानीय तहमै हुन्छन”, उनले, “गणतन्त्रको यो भन्दा सुन्दर अभ्यास अरु के हुन सक्छ ?” स्रोत, साधन, जनशक्ति अभाव जस्ता कारणले कार्यक्षमता कम भएपनि नागरिकको सेवामा दृढ भएर लाग्ने उनको भनाइ छ ।

नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले गणतन्त्रमा नागरिक खुशी र सुखी हुनुपर्ने बताए । “हामीले गणतन्त्र ल्याएको मुलुकको विकास होस, सबैले न्याय पाउन, समृद्धि आओस भनेर हो”, उनले भने, “दलहरु सधैँ नागरिकको अभिभावक भएर काम गर्नुपर्छ ।” परिवर्तनको अनुभूति दिलाउने गरी सरकारले गर्ने काममा काँग्रेसले सँधै सहयोगीको भूमिका खेल्ने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य एवं नेकपा बागलुङका नेता चन्द्रबहादुर बुढाले गणतन्त्रलाई नागरिकको बीचमा स्थापित गर्नुपर्ने बताए ।

“राज्यका तीनै तहमा स्थिर सरकार छ, अहिले काम गर्ने धेरै अवसर छ”,उनले भने, “हाम्रा नीति, कार्यक्रम, कार्यशैली सबैमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।” उनले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लानुपर्ने बताए ।

गणतन्त्रात्मक राज्यका मूलभूत मान्यताहरुलाई आत्मसाथ नगरी नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिने उनको बुझाइ छ । संविधानबाट संविधान बन्नु, संघीयता कार्यान्वयन हुनु र तीनै तहको निर्वाचनले गणतन्त्र संस्थागत भएको राजनीनिक नेतृत्वको दाबी छ ।

गणतन्त्र प्राप्तिकै संघर्षमा पति गुमाएकी दिलमाया रोका पनि न्यायपूर्ण, समुन्नत र समृद्ध समाज निर्माणमा जोड दिन्छीन । गणतन्त्र स्थापनामा शहिद र तिनका परिवारको विशिष्ट योगदानलाई राज्यले बिसर्न नहुने उनको भनाइ छ ।

“देश बदल्ने संकल्प लिएर हामी संघर्षमा होमियौँ, प्रियजन गुमायौं”– उनले भनिन, “बलिदानबाट आएको गणतन्त्रलाई लक्ष्यमा पु¥याउनुपर्छ ।”

समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रिय पूँजीको निर्माण, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र ठूला विकास आयोजना सञ्चालनमा जोड दिइनुपर्छ ।

स्वाधीन अर्थतन्त्र, रोजगारी सिर्जना र नागरिकका आधारभूत आवश्यकता परिपूर्ति हुन सके परिवर्तनको अनुभूति नागरिकले गर्न सक्नेछन । कठोर संघर्षको बलबाट निरकुंश राजतन्त्रलाई हटाएर प्राप्त गरेको गणतन्त्रको सुदृढ र संस्थागत विकासमा सबैको योगदानको जरुरी छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्