मन्दिरमा मुसाको संरक्षण, मुसाकै नाममा खाना पनि छुट्टाईने ।।



सैघाली खबर, २० जेठ।
काठमाडौँ उपत्यकामा एउटा त्यस्तो मन्दिर छ जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ । पाटन दरबार क्षेत्र नजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ । मन्दिर बनेसँगै नै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वा बताउछन् ।

शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरेको हो । साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । उनका अनुसार मुसालाई पनि सात भाग छुटाइन्छ र उनीहरुले छुट्याएको भाग खाएर बस्छन् । सबैभन्दा अनौठो कुरा त के छ भने यी मुसाले क्षति गर्दैनन् । धाख्व भन्छन्, “मन्दिर परिसरको कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति भएको छैन ।”

घरमा भएकाभन्दा यी मुसा फरक प्रकृतिका रहेको उनको भनई छ । मन्दिर परिसरमा मात्रै होइन यी मुसाले छिमेकमा समेत गएर त्यहाँ गएर दुःख दिएको पनि अहिलेसम्म थाहा छैन । पाका उमेरका मानिस पनि महाविहारका मुसा पहिलेदेखि अहिलेसम्म नै शान्त र ज्ञानी स्वभावको भएको यहाँका बासिन्दा बताउँछन् । स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुन जस्तै वर्णको र हिरा जस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो । मन्दिर परिसरमा धेरै मुसा छन् तर यति संख्यामा छन् भन्ने यकिन भने छैन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्