दलित मोर्चाद्वारा कालिकोटकी मनु सार्कीका हत्यारालाई कारबाहीको माग



नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विकले कालीकोटमा दलित पहिला मारिएको घटना प्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ  ।

नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालुकी ४२ वर्षीया मनु सार्की (आइती) को हत्याको घटनाप्रति भर्त्सना गर्दै  उनले हत्यारालाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका  छन  ।

तत्कालीन एमालेबाट नरहरिनाथ गाउँपालिका ९ की वडा सदस्यमा निर्वाचित मनु र एमालेकै कम्मर शाहीबीच जेठ १९ गते साँझ ९ बजे जातीय विभेदका विषयमा छलफल हुँदा शाहीले ‘तँ डुम’ भनेर मनुलाई अपशब्द प्रयोग गर्दै हेपेका थिए । त्यसपछि दुवै पक्षबीच भनाभन भएको थियो । पीडककी जेठी छोरी रेजिन्द्रा शाही (२५ वर्ष), माइली छोरी सिर्जना शाही (२१ वर्ष) र कान्छी छोरी दुर्गा शाही (१६ वर्ष) समेतले बाबुका पक्षमा लागेर मनुलाई ढुङ्गा र पैयाँको लट्ठीले निर्मम ढङ्गले कुटेको मोर्चाले जनाएको छ । शाही परिवारबाट निर्घात कुटिएकी मनुको राती १ बजे नै मृत्यु भएको पनि मोर्चाले जनाएको छ ।

आफ्नै पार्टी एमालेका कार्यकर्ताद्वारा कुटेर हत्या गरिएकी कालिकोटकि मनु सार्की

अध्यक्ष विकले मङ्गलबार विज्ञप्ति जारी गर्दै  भनेका  छन , ‘यो निन्दित घटनाबाट पनि संसदीय व्यवस्थाबाट दलित, उत्पीडितको मुक्ति हुँदैन र वैज्ञानिक समाजवादबाट मात्र हुन्छ भन्ने पुष्टि भएको छ । सरकारले पीडकलाई कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्छ । सरकारले पीडितलाई न्याय नदिएको खण्डमा हामी सशक्त सङ्घर्ष सञ्चालन गर्न बाध्य हुनेछौँ ।’

स्मरणीय छ, दलित भएकै कारण कालीकोटमा मनु सार्की (आइती) को हत्या भइरहेको समयमा जेठ २१ गते नै वाम गठबन्धनमा रहेका सङ्घसङ्गठन र गैससहरु राजधानीमा ‘छुवाछूतमुक्त राष्ट्र’ को उत्सव मनाइरहेका थिए ।

अझै विडम्बना त के छ भने यही सरकारका गृहमन्त्री रामबहादुर थापा कार्यक्रमका प्रमुख अतिथि थिए । सरकारले २०६३ साल जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गरेपछि संसद्वादी दलमा आबद्ध दलित सङ्घसङ्गठनहरु उक्त दिन उत्सव मनाउने गर्छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्