स्थानीय तह जवाफदेही नहुने हो भने भ्रष्टाचार रोक्न गाह्रो छः आयुक्त डा. गुरुङ



धनकुटा, २५ जेठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्रा थापा गुरुङले सुशासनको प्रत्याभूति दिलाउँदै जवाफदेही सेवा प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिएकी छिन ।

बिहीबार धनकुटास्थित सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषय अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय तहले भ्रष्टाचारमा शून्य सहनशीलता व्यवहारमा देखाउनुपर्ने समेत बताइन ।

जिल्लाका सातवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं जिल्लास्थित कार्यालयका प्रमुखलाई सिंहदरबारको अधिकार वडा कार्यालयबाट सेवा प्रवाह हुने भएकाले जनअपेक्षा अनुसार सरकारले तोकेका ऐन, नियम र कार्यविधिको परिपालना गर्नसमेत अग्रह गरिन ।

सबै प्रकारका सेवाप्रदायक कार्यालयमा बडापत्र राख्ने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने एवं सेवाग्राहीमैत्री कार्यालयको वातावरण राख्न निर्देशन दिइन ।

बहुराष्ट्रिय चासोको विषय बनेको भ्रष्टाचार पछिल्लो समय नेपालमा जनसरोकारका कार्यालय शिक्षा, स्वास्थ्य, स्थानीय तह, भौतिक निर्माणका कार्यालयका अत्यधिक उजुरी आयोगमा पर्ने गरेका कारण थप सजग हुन आयुक्त गुरुङले निर्देशन दिइन ।

यस वर्ष धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुममा अख्तियार दुरुपयोग गरेका कूल १२७ उजुरीमध्ये ५१ वटा मात्र बाँकी रहेका छन भने अन्य किनारा लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, धनकुटाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्