मन्त्रिपरिषदले गर्‍यो प्रहरी र नेपाल-चीन सहभागिताका आयोजनाबारे महत्वपूर्ण निर्णय



काठमाडौं २७ जेठ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरी र नेपाल(चीन जोड्ने पुल निर्माण गर्ने तथा ऊर्जासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको छ। यस अघि १५ जना एआइजी रहँदै आएकोमा मन्त्रिपरिषद बैठकले अब तीन जनाको मात्रै दरबन्दी कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। त्यसैगरी सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी दुई जना कायम गरिएको छ। बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष भित्र १६ सय दरबन्दी र बाँकी दरबन्दी क्रमशः पदपूति गर्ने गृह मन्त्रालयको प्रस्तावित ३ हजार १०१ दरबन्दी पनि स्विकृत गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए।

सरकारले तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्विकृत गरेको छ। दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ। त्यसैगरी नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्रीलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए। चीनको नेश्नल इनर्जी अफ एडमिनिष्ट्रेशनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो। सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई दिएको हो।thahakbr

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्