अचम्मः शिक्षकले पढाए नपढाएको निगरानी अब विद्यार्थी गर्ने



फलेवास, पर्वत, २८ जेठ

पर्वतको कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षकको होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए ।

नगरपालिकाको नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन ।

शिक्षकका दैनिक क्रियाकलाप विद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन भने उनीहरुको मूल्यांकन समेत गरेका हुन्छन भन्ने कुरा अनुगमनका क्रममा देखिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका बारेमा अनुगमन गर्न पुगेको टोलीसँग विद्यार्थीले आफूहरुलाई राम्रो शिक्षण गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने ठगी गर्ने शिक्षकका सबै कर्तुत खोलिदिए ।

“विद्यार्थीले राम्रोसँग अध्यापन गराउने र कक्षाकोठामा ठगी गर्ने शिक्षकका बारेमा रेकर्ड राखेरै विवरण दिए” नगरशिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले भने “आफ्नो बारेमा विद्यार्थीले रेकर्ड राखेका हुन्छन भन्ने सोचेर शिक्षकले कक्षाकोठामा पुगेर मेहनतका साथ पढाउन जरुरी छ ।”

अनुगमन टोलीले जनता सुदर्शन मावि, खौलालाँकुरी मावि, पञ्चकोशी मावि लगायतका विद्यालयका कक्षाकोठामा पुगेर शैक्षिक गुणस्तर, शिक्षण सिकाइ उपलब्धिका बारेमा जानकारी लिएका थिए ।

“शिक्षकले आफ्ना आनीबानीदेखि पठनपाठन गर्न जाँदा राम्रो तयारी गरेर जानुपर्ने आवश्यकता देखियो” अधिकृत क्षेत्रीले भने ।

अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारकालागि असल अभ्यास पनि भइरहेको भेटिएको थियो भने धेरै राम्रा विद्यार्थी पनि भेटिएका थिए । उनीहरुकालागि उपयुक्त वातावरण शिक्षक, विद्यालय र अभिभावकले दिने हो भने धेरै सुधार गरेर जान सकिने सम्भाबना रहेको स्रोतव्यक्ति प्रेम शर्मा सुवेदीले बताए ।

“सामुदायिक विद्यालयले पनि गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेका छन” उनले भने “यसलाई निरन्तरता दिँदै थप असल अभ्यास गर्न जरुरी देखिएको छ ।”

अनुगमनका क्रममा विद्यार्थीको सिकाइस्तर कस्तो छ ? विद्यालयमा के कस्ता समस्या छ ? त्यसको समाधानका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ ? विद्यालयका भौतिक लगायत अन्य क्षेत्रमा के कसरी सुधार गर्न सकिन्छ ? भने वारेमा सरोकारवालाबीच छलफल समेत गरिएको थियो ।

अनुगमनका क्रममा नगरशिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, रामप्रसाद लामिछाने र कुमार उपाध्याय तथा सञ्चारकर्मीको सहभागिता थियो ।

विद्यालयका असल अभ्यासलाई अन्य विद्यालयमा लैजाने र समस्यामा रहेका विद्यालयलाई पनि असल अभ्यासका लागि प्रेरित गर्न अनुगमन प्रभावकारी भएको अर्का स्रोत व्यक्ति कुमार उपाध्यायले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्