प्रधानसेनापति किन गए नालापानी ?



नेपाली सेनाका सेनापति राजेन्द्र क्षत्री भारतको नालापानी किल्लाको भ्रमणमा पुगेर फर्केका छन । करिब २ सय चार वर्षअघि नेपाली र ब्रिटिस फौजबीच लडाइँ भएको नालापानी किल्लामा उनी पुगेका हुन । नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

उनले देहरादुनमा रहेको खलंगा वीर गोर्खाली सहिद स्मारकमा बलभद्र कुँवरसहित नेपाली सैनिकहरुको स्मारकमा माल्यार्पण गरे । नालापानी किल्लाको औपचारिक भ्रमण गर्ने उनी पहिलो नेपाली प्रधानसेनापति हुन ।

भारतीय सेनाका सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा भारत गएका बेला उनले त्यहाँ रहँदा नालापानी पुगेर सहिद स्मारकमा माल्यार्पण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
देहरादुनमा सैनिक अधिकृतहरूको ‘पासिङ आउट’ कार्यक्रममा सहभागी हुन गएका बेला क्षत्री नालापानी पनि पुगेका थिए ।

इतिहासमा नालापानीः ५ हजारविरूद्व ६ सय

वि.सं १८७१ कात्तिकमा ब्रिटिससँग नालापानी किल्लामा वलभद्र कुँवरको नेतृत्वमा नेपालीले लडेका थिए ।
गोर्खाली सेनाका तत्कालीन क्याप्टेन बदभद्र कुँवर र ब्रिटिस सेनाका मेजर जनरल रोलो जिलेस्पीको नेतृत्वमा युद्ध भएको थियो । लडाइँमा मेजर जनरल जिलेस्पी गोर्खालीको आक्रमणमा मारिए ।

इतिहास अनुसार लडाइँमा अत्याधुनिक हतियारसहित ५ हजार ब्रिटिस सहभागी थिए भने गोर्खालीतर्फ सैनिक र गैरसैनिक गरी करिब ६ सय थिए ।
ब्रिटिस फौजले नालापानी किल्लामा जाने पानीको मुहान बन्द गरेपछि भोकभोकै लडेका गोर्खालीले हार खानुपरेको थियो । लडाइँमा सर्वसाधारण सहभागी थिए । नालापानी कब्जापछि बलभद्र कुँवर र गोर्खाली सेनाको वीरताको सम्मानमा ब्रिटिस फौजले वीरताको गाथा कोेरेर स्मारक बनाएको थियो ।

प्रधानसेनापति क्षत्रीलाई नालापानीमा भारतीय सेनाका अवकासप्राप्त लेफ्टिनेन्ट जनरल शक्ति गुरूङ, खलंगा विकास समितिका अध्यक्ष रामसिंह थापा, लेखक मधु गुरूङले स्वागत गरी युद्धस्मारकका बारेमा जानकारी गराएका थिए ।
प्रधानसेनापति क्षत्रीले गोर्खाली वीरताको गाथा सुरक्षित गरेकोमा भारत सरकार, पुरातत्व विभाग तथा खलंगा विकास समितिलाई धन्यवाद दिए ।
नालापानीमा उनको सम्मानमा फस्ट गोर्खा राइफल्सको तेस्रो बटालियनले ‘गार्ड अफ अनर’ दिएको भारतीय पत्रिका ‘द पायोनियर’ले जनाएको छ । प्रधानसेनापति क्षत्री सोमबार स्वदेश फर्किसकेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्