चुनावको बाचा पुरा नहुँदा सिक्री र औंठी बेचेर बाटो बनाउँदै म्याग्दीबासी



बेनी, ४ असार
म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औंठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिएका थिए ।

निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका उम्मेदवारले सडक विस्तारमा बजेटको प्रतिबद्धता जनाएपछि ऋणधन गरेर सडक विस्तारमा कस्सिएका नारच्याङवासी नेताले गरेका प्रतिबद्धता पुरा नभएपछि ऋणमा चुर्लुम्मै डुबेका छन ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बँेशीबाट लेकगाउँ जोड्ने बेँशी–लेकगाउँ मोटरबाटोमा राजनीतिक दलका र निर्वाचित जनप्रतिनिधिको आश्वासन पूरा नहुँदा स्थानीयवासीले तीन वर्ष अगाडि शुरु गरेको सडक निर्माण कार्य अलपत्र परेको छ ।

बेँशीबाट लेकगाउँका जनतालाई सहज आवतजावत गर्न स्थानीयले चन्दा संकलन गरे पनि पर्याप्त नभएपछि सडक अलपत्र परेको निर्माण समितिका अध्यक्ष पुर्जाले बताए । “सडक विस्तारमा लागेको ऋण तिर्न मैले सुनसमेत धितो राखेको छु,” “बजेट छुट्टियो भनेर काम शुरु गरियो, पछि बजेट सुको आएन” पुर्जाले भने । व्यक्तिगत रुपमा लिइएको ऋणको ब्याज बढिरहेको छ ।

“मजदुरको पैसासमेत तिर्न सकिएको छैन, सडक अलपत्र पर्दा लेकगाउँवासीलाई सास्ती भएको छ” पुर्जाले भने । करीब ६०० घरधुरी रहेको लेकगाउँ आलुखेतीका लागि पकेट क्षेत्र मानिन्छ ।

तत्कालीन जिविसबाट रु छ लाख, पूर्वसांसद रेशमबहादुर बानियाँको कोषबाट रु तीन लाख प्राप्त भए पनि अझै करीब रु १० लाख पुरानो ऋण रहेको उपभोक्ता समितिको भनाइ छ ।

पुरानो ऋण चुक्ता नगरी सडक विस्तारको सम्भावना नभएको समितिको भनाइ छ । गाउँसम्म सडक पु¥याउन कडा चट्टान फोर्नुपर्ने भएकाले पनि करीब रु दुई करोड लागत अनुमान गरिएको छ ।

मिस्त्रीखोला जलविद्युत आयोजनाले बेँशीगाउँ माथिसम्म सडक विस्तार गरेको छ । लेकगाउँबाट उत्पादन हुने अग्र्यानिक तरकारीलाई निर्यात, अन्नपूर्ण बेस क्याम्प र खोपा लेक जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने स्थनीय टेक पुनले बताए ।
जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तारमा आवश्यकता अनुसारको बजेट नहुँदा स्थानीयले आफ्नो खेतबारीको लालपूर्जा समेत धितो राखेर लगानी गर्ने गरेका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्