बिहे नभएकी किशोरीले पनि आइरन चक्की खानै पर्ने, यस्तो छ कारण



कालीकोट, असार ७
जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की अबदेखी किशोरीलाई पनि खुवाइने भएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन नगरपालिका र छ वटा गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने भएको हो ।

खाँडाचक्र नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकी अन्तर्गतका किशोरीलाई अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालका अनुसार नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा छात्राछात्रालाई अभिमुखीकरण गरेर आउने १० गतेदेखि किशोरीलाई प्रत्येक हप्तामा तीन चक्कीका दरले आइरन चक्की खुवाउन शुरु गरिएको बताएका छन ।

कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा आइरन चक्की सुत्केरी अवस्थामा मात्र खुवाउन थालेपछि अधिकांश सुत्केरीले प्रयोगमा नल्याउने परम्परा बसेका कारण किशोरीबाट नै शुरुवात गर्दा प्रयोग हुनुका साथै जनचेतनाका क्षेत्रमा समेत सहजता हुने विश्वास लिइएको छ ।

आइरन चक्कीले महिलाको स्वास्थ्यमा सुधार गर्ने भएकाले नगरपालिकाका सबै वडामा यस अभियानको थालनी गर्नुपर्ने खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले बताएकी छिन । उनले महिलाको जीवनमा आइपर्ने समस्या हल गर्न स्वास्थ्य क्षेत्रमा पहिलो ध्यान जानुपर्ने बताइन ।

जिल्लामा यसअघि जिल्ला स्वास्थ्य कार्यालय, कालीकोट तथा अन्य गैरसरकारी निकायसँगको समन्वयमा किशोरकिशोरी परामर्श केन्द्र सञ्चालनमा आएपनि अहिले भने ती परामर्श केन्द्र अलपत्र परेका छन । कालीकोट जिल्लामा पछिल्लो समयमा युवा लक्षित कार्यक्रम सन्चालन हुँदै आएका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्