कांग्रेस सभापति भेला : कुन–कुन नेताले गरे त बहिष्कार ?



सैघाली खबर, ७ असार ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएपछि भेलालाई निष्कर्ष विहीन बनाउने संस्थापन पक्षको तयारी रहेको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् । उनीहरुले भेलाको निष्कर्षलाई मार्गदर्शन बनाउने भन्दा पनि औपचारिक जमघटमा सीमित गर्ने प्रयास भएको टिप्पणी गरेका छन् । मंगलवारदेखि हेटौंडामा शुरु भएको जिल्ला सभापति भेला बिहीबार समापन हुँदैछ ।

पार्टी एकतामा जोड दिन बोलाइएको भेलामा सभापति देउवाले आफ्ना विरोधीहरुलाई ‘तह लगाउने’ रणनीति उदघाटन सत्रमै उदांगो पारेको आरोप लगाइएको छ । जसका कारणले सभापति भेलाको दोश्रो दिन कांग्रेसका प्रभावशाली दुई नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भेलाको बहिष्कार गर्दै हेटौंडा छाडे । उदघाटन समारोहमा मन्च बहिस्कार गरेका सभापतिका प्रत्याशी तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भेला अवधिभर जिल्ला सभापतिहरुसँगै बसे ।

उनलाई मन्चमा पटक–पटक बोलाइए पनि गएनन् । आफ्नो आलोचना हुनसक्ने भएकाले देउवाले सिटौला र प्रकाशमानलाई पूर्वमहामन्त्रीको हैसियतमा बोल्नबाटै रोकेको आरोप लागेको छ । विधानतः कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले लिने निर्णय बोक्ने कुनै कमिटी छैन । सभापति भेलाको सुझाव र निष्कर्षलाई केन्द्रीय कार्य समितिले ग्रहण गरेर सोहीअनुसार महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने उद्देश्यले रामचन्द्र पौडेल तथा कृष्ण सिटौला पक्षले भेला माग गरेको थियो । उसैपनि जिल्ला सभापति पौडेल पक्षका धेरै छन् । त्यसमाथि कृष्ण सिटौला, अर्जुन नरसिंह केसी, केबी गुरुङ लगायतका नेता पनि देउवा विरोधी खेमामा एकजुट भएपछि बहुसंख्यक सभापति संस्थापन इतरका छन् ।

त्यसैले सभापति भेला आफू अनुकुल नहुने भएपछि संस्थापनले सो भेलालाई निष्कर्ष्विहीन बनाउन खोजेको नुवाकोटका सभापति जगदिशनरसिंह केसीले आरोप लगाए । पार्टीका शीर्ष नेताहरुलाई सम्बोधन गर्न नदिई जिल्ला सभापतिहरुको भेलाको बन्दसत्र सुरु गर्ने भनियो । उदघाटन सत्रपछि काठमाडौंबाट मकवानपुर लगिएका लोकदोहारीका कलाकारलाई उदघाटन सत्रपछि नचाएर भेलालाई रिफ्रेसमेन्ट भेलामा परिणत गरिएको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् ।

बन्द सत्रमा बोल्ने क्रममा उदघाटन सत्रमा प्रभावशाली नेताहरुलाई बोल्न नदिइएको तथा बन्दसत्र सुरु गर्नुको साटो दोहोरी गीत र नाचगानको कार्यक्रम राखेर भेलालाई रमाइलोमा परिणत गर्न खोजेको आरोप समेत सभापतिहरुको छ । उदघाटन समारोहमा अपमानित गर्न खोजिएको र सभापति भेलालाई औपचारिकतामा सीमित गर्न खोजिएको भन्दै प्रकाशमान सिंह जिल्ला सभापतिहरुसँग भेटघाट गरेर फर्किएको स्रोतले जनाएको छ । बन्दसत्रमा बोल्ने सभापतिहरुले पार्टी सभापति देउवाले आफ्नो आलोचना सुन्नेभन्दा पनि आवाज बन्द गरेर अधिनायकवादी बन्न खोजेको आरोप लगाए ।

सभापति देउवाले आफ्नो आलोचना कम होस् भनेर पार्टीको भ्रातृ संस्था नेपाल सांस्कृतिक संघले दोहोरी साँझबाट मकवानपुर लगेका कलाकारहरुको नाचगान देखाएर रिफ्रेसमेन्ट भेला बनाएको टिप्पणी सभापतिहरुले गरेका छन् । यसैबीच महामन्त्री शशांक कोइराला निकट केही नेताले सभापति देउवाले नियोजित रुपमा विजय गच्छदारलाई कोइलाभन्दा पछि बोल्न दिएर मानमर्दन गरेको आरोप लगाएका छन् । पार्टीको निर्वा्चित महामन्त्रीभन्दा माथि गच्छदारलाई राखेकोमा देउवा समक्ष कोइरालाले पनि असन्तुष्टि जनाइसकेको स्रोतको दावी छ ।

सभापतिहरुले के भने ?
बन्दसत्रमा बोल्नेमध्ये बहुसंख्यक सभापतिले चुनावी हारमा मूल नेतृत्व जिम्मेवार रहेको आरोप लगाए । उनीहरुले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग काण्ड, आईजीपी काण्ड लगायत सरकारमा बस्दा गरिएका अलोकप्रिय कामको श्रृंखलाले जनमत कांग्रेसको विपक्षमा गएको बताएका थिए । देउवाको पक्षमा कन्चनपुरका हरिप्रसाद बोहोरा, दोलखाका रुद्रबहादुर खड्का, बाजुराका कविराज पण्डित र पर्वतका खिमानन्द भुसालले बोलेका थिए ।

उनीहरुले एउटा व्यक्तिले मात्र पराजयको जिम्मा लिनुपर्छ भन्ने तर्क सही नभएको बताएका थिए । जिल्ला सभापतिहरुले टिकट वितरणमा आफूहरुलाई निरीह बनाइएको गुनासो गरेका थिए । कालीकोटका सभापति हर्ष बमले इरानका राजा मोहम्मद रेजा पलवीको उदाहरण दिँदै पार्टी सभापति देउवालाई पनि उनीसँगै तुलना गरेका थिए । दोस्रो विश्वयुद्धपछि इरानको शासन सत्ता हात पारेका रेजा पलवी तानाशाह बनेर निस्किएका थिए ।

उनी आफैं र उनको परिवारका साथै उच्च घरानियाहरु ठूला(ठूला भ्रष्टाचारमा मुछिएका थिए । उनले इरानको कम्युनिस्ट पार्टी (तुदेह)माथि प्रतिवन्ध लगाएका थिए । उनका यस्तै अनेकौं हर्कतका कारण इरानमा राजतन्त्र अन्त भएको थियो । देउवाकै कारण कांग्रेस समाप्त हुन लागेको सांकेतिक विम्ब कालीकोटका सभापति हर्ष बमले प्रयोग गरेका हुन् । बर्दियाका सभापति सञ्जय गौतमले केन्द्रीय सभापतिमा रामचन्द्र पौडेलका पक्षमा भोट हाल्ने पदाधिकारीहरूलाई बारम्बार पीडा दिने काम भएको गुनासो गरेका थिए ।

खोटाङका नरेशकुमार श्रेष्ठले सभापति देउवाले नातागोतालाई मात्र च्यापेको आरोप लगाए । पाल्पाका सभापति वीरबहादुर रानाले हारेको सभापतिलाई विश्वासमा लिएर टिकट वितरण गर्नु भनेपछि निर्वा्चित सभापतिको अधिकार बाँकी नरहेको बताए । तेह्रथुमका सभापति गोविन्द ढुंगानाले व्यापारीलाई निर्वाचन अभियानमा लगाएर पार्टीले उल्टै सम्बन्धित क्षेत्रका मानिसलाई पार्टीले टाढा पारेको बताएका थिए ।

ककसले छाडे हेटौंडा ?
जिल्ला सभापतिहरुको भेला उदघाटन सत्रदेखि नै अस्वाभाविक भएको र केही नेताको मानमर्दन गर्न खोजिएको भन्दै कतिपय केन्द्रीय सदस्य पनि भेलामा नबसी हेटौंडाबाट फर्किएका थिए । चीनकाजी श्रेष्ठ, गोविन्द भट्टराई, हृदयराम थानी, वीरबहादुर बलायर लगायत प्रकाशमान र अर्जुन नरसिंह केसी जस्तै गरी फर्किए । उदघाटन समारोहमा अपमानित गर्न खोजिएको र सभापति भेलालाई औपचारिकतामा सीमित गर्न खोजिएको भन्दै प्रकाशमान जिल्ला सभापतिहरुसँग भेटघाट गरेर फर्किएको स्रोतले जनाएको छ । ‘सबै कुरा रेडिमेड छ, त्यहाँ बसेर केही उपलव्धी नहुने भएपछि जिल्ला सभापतिहरुसँग भेटघाट गरेर फर्किनुभयो,’ सिंह निकट एक नेताले भने ।।onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्