प्रदेश सरकारसँग समन्वय नै नगरी सचिव सरुवा, मुख्यमन्त्रीले केन्द्र सरकारलाई दिए चेतावनी



सैघाली खबर, ८ असार ।

केन्द्र सरकारले समन्वय नै नगरी सचिव सरुवा गरेपछि प्रदेश २ को सरकारले आपत्ति जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रलाई पत्र नै लेखेर आइन्दा यस्तो नगर्न चेतावनी दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका सचिवहरुको सरुवा गरेको छ ।

प्रदेश सरकारसँग समन्वय नै नगरी आन्तरिक मामिला र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । बजेट आएको एक सातामै आर्थिक मामिला मन्त्रालयका सचिवलाई केन्द्रमा तानिएको छ । यस्तै आन्तरिक मामिला सचिवलाई प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रदेश सरकारले प्रहरी ऐनको विधेयक पास गरेलगतै सचिवको सरुवा गरेको भन्दै आन्तरिक मामिलामन्त्रीले असन्तुष्टि जनाएका छन् ।यसअघि पनि योजना कार्यान्वयनको समयमा भौतिक पूर्वाधार सचिवको सरुवा भएको थियो । सामान्यत प्रदेशमा सचिवहरु जान मान्दैनन् । मुस्किलले गएकाहरुलाई घुलमिल हुन पनि समय लाग्छ । तर, केन्द्र सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरी छिटोछिटो सचिव सरुवा गर्दा काम गर्न अप्ठ्यारो भएको छ ।

‘बजेट आएको एक साता नहुँदै सचिव सरुवा गरेपछि कसरी काम गर्ने ?’ एक अधिकारीले भने, ‘केन्द्र सरकारले प्रदेशलाई सहयोग होइन, भाँडभैलो मच्चाउन खोजेको त होइन ? प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेखेर प्रदेश सरकारसँग समन्वय नै नगरी सचिव र अन्य कर्मचारीहरु सरुवा गर्दा अन्यौल सृजना भएको बताएका छन् । प्रधानमन्त्री कार्यालयलाई समेत बोधार्थ दिइएको पत्रमा सचिव तथा कर्मचारीको पदस्थापन, सरुवा तथा काज फिर्ता गर्नु अगाडि समन्वय गर्न आग्रह गरिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्