प्रतिनिधि सभाको बैठकद्धारा दुई विधेयक पारित



काठमाण्डौ १५  प्रतिनिधि सभाको आजै बसेको दोस्रो बैठकले दुई विधेयक पारित गरेको छ । ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धि विधेयक, २०७५’ बहुमतले पारित गरेको हो । दुबै विधेयक नियम निलम्वन गरी फास्ट ट्रयाकबाट प्रतिनिधि सभामा नै दफावार छलफल गरी पारित गरिएको हो ।

राष्ट्रिय सभाका सदस्यको निर्वाचन विधेयकमाथीको दफावार छलफलका क्रममा नेमकिपाका प्रेम सुवालले राष्ट्रिय सभाका सदस्य पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताउनु भएको थियो ।  उहाँले उठाउनु भएको प्रश्नको जवाफ दिंदै गृहमन्त्री राम बहादुर थापाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङले संवैधानिक व्यवस्था अनुसार नै राष्ट्रिय सभाको निर्वाचन हुने बताउनुभयो ।  यस्तै संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्वन्धी विधेयकमाथीको दफावार छलफलका क्रममा सांसदले संघीय संसदका कर्मचारीको पनि उमेर निजामति सेवाकै जति हुनुपर्ने बताएका छन् ।

 

सो विधेयकमाथिको छलफलका क्रममा सांसद ह्ृदयेश त्रिपाठीले उमेर हद घटबढ गर्दा हुने फाइदा/बेफाइदाका बारेमा सरकारले अध्ययन नगरेको बताउनुभयो ।  सांसदहरु संजय कुमार गौतम र प्रेम सुवालले पनि संघीय संसद सचिवालयमा हुने नियुक्ति संसद सचिवालय भित्रबाटै हुनुपर्ने बताएका थिए । दफावार छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै कानून न्याय तथा संसदीय मामिला मन्त्री तामाङले योग्यता र क्षमताकौ आधारमा नियुक्त भएको बताउनुभयो ।  सो विधेयकको दफा ५ मा महासचिव र सचिवको पदावधी ५ वर्ष तोकिएको छ । सो अगावै ५८ वर्ष उमेर पुगे उमेर हदलाई आधार मानिने उल्लेख छ ।

 

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक र संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्वन्धी विधेयक प्रतिस्थापन विधेयक हुन् । यसअघि ऐनको अभावमा अध्यादेश मार्फत राष्ट्रिय सभाको निर्वाचन भएको थियो भने प्रतिनिध सभा र राष्ट्रिय सभाका सचिव पनि अध्यादेश मार्फत नै नियुक्त भएका थिए ।  प्रतिनिधि सभाको अर्को बैठक पर्सी आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

http://bit.ly/2Kv5kaE

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्