डा. केसीको स्वास्थ्य कमजोर, अस्पताल बाहिर उपचार कठिन : चिकित्सक



सैघाली खबर, १७ असार ।
अनसनमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । जिल्ला खेलकुद विकास समितिको खुला कवडहलमा अनसनमा रहेका डाक्टर केसी कम बोल्ने भएका छन् । डाक्टर केसीको मासु फर्किने, ढाड दुख्ने, रिंगटा लाग्ने समस्या सुरु भएको उपचारमा खटिएका डाक्टरहरुले बताएका छन् ।

डाक्टर केसीको रक्तचाप, नाडि र स्वासप्रश्वास भने ठीक भएको तर अनसनको अवस्थामा कतिबेला के हुन्छ, भन्न नसकिने डाक्टर धिरज गुरुङले बताए । अनसन स्थल पनि स्वास्थ्यको दृष्टिकोणले ठीक नभएको चिकित्सकहरुले बताएका छन् । अनसनस्थल सिमेन्टको कोठा, बत्तिविहीन तथा आवश्यक उपचारका पूर्वाधारहरु नभएकाले समस्या हुने चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य क्षेत्रका विभिन्न मागसहित आफ्नो १५ औँ अनसन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रोजेका डाक्टर केसी असार १५ गते जुम्ला पुग्ने वित्तिकै स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई अनसन निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिष्ठानमा अनसन रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका केसीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएका केसीले प्रहरी कार्यालयबाटै अनसनको घोषणा गरेपछि प्रहरीले तत्काल रिहा गरी जिल्ला खेलकुद विकास समितिको हलमा पुर्याएको थियो ।

कवर्डहल भित्रै उनले शनिबार औपचारिक रुपमा अनसन सुरु गरेका हुन् । अस्पतालमा रोक लगाइएपछि कवर्डहलमा उनको अवस्था खराब हुने भएकाले अनसनस्थल अस्पताल नै हुनुपर्ने स्थानीयहरुको पनि माग छ । केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रविण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर सिद्धार्थ खत्रीसहितको चिकित्सको टोली उपचारमा खटिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्