उपप्रधानमन्त्री पोखरेलसँग कोसियारीको भेटवार्ता



काठमाडौँ, १७ असार ।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारत पक्षका संयोजक भगतसिंह कोसियारीले आज भेट गरी समूहको सुझावबारे अवगत गराउनुभयो ।

आफूहरुले साझा प्रतिवेदन तयार पारेको अवगत गराउँदै भारतीय पक्षका संयोजक कोसियारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस् भन्ने भारतले चाहेको बताउनुभएको थियो ।

 

कोसियारीले आगामी दिनमा दुई देशकाबीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी गराउनुभएको थियो । साझा प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोसियारीलाई विशेष धन्यवाद दिनुभयो ।

उहाँले दुवै देशले प्रतिवेदनलाई इमान्दारीताका साथ कार्यान्वयन गर्नेतर्फ ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । “जसरी समझदारीका साथ प्रतिवेदन तयार गर्नुभएको छ, अब प्रभावकारी कार्यान्वयनमा पनि तपाईँले भूमिका खेल्नुपर्छ”–उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध सुमधुर बनाई राख्न राजनीतिक तहमा पनि नियमित भेटघाट र अन्तक्र्रिया भइरहनुपर्नेमा जोड दिनुभयो ।

“नेपाल–भारतबीचको सम्बन्धलाई बलियो र सुमधुर बनाइराख्न राजनीतिक तहमा पनि नियमित भेटघाट, अन्तक्र्रिया र छलफल हुन जरुरी छ”–उहाँले भन्नुभयो । उहाँले दुई देशबीच आइपर्ने कतिपय व्यावहारिक समस्याबारे पनि समझदारीका साथ छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्