नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्द, रुकुमको बस दुर्घटनामा १४ घाइते



नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

उता रुकुममा  बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा सोमबार बिहान करीब २ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उनकी आमा ३६ वर्षीया माया पुन, वडा नं ८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही ठाउँका २१ वर्षीय क्षतिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार, सल्यान बागचौर नगरापालिका–१० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान सारदा नगरपालिका–१ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३ मैकोटका २५ वर्षीय करण बुढा, सोही ठाउँका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा, वडा नं १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उहाँका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

घाइतेमध्ये तीन जना सृष्टी पुन, विष्णु परियार र करण बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्