मंगलबार सम्म भारी वर्षा हुने



काठमाडौँ  १८  असार  जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मंगलबारसम्मै भारी वर्षा हुने बताएको छ । महाशाखाका मौसमविद् बरुण पौडेलले असार १३ देखि देशैभरि मनसुन सक्रिय भएको र आइतबारदेखि भारी वर्षा सुरु भएको बताए ।
‘आइतबारदेखि पश्चिम र मध्यभागमा भारी वर्षा भएको छ,’ उनले भने, ‘सोमबार राति र मंगलबार पूर्वी भागमा ठूलो वर्षा हुने देखिन्छ । पश्चिम क्षेत्रमा भने सोमबार रातिदेखि नै वर्षा रोकिँदै जानेछ ।’
महाशाखाले बुधबारबाट भने सबै भागबाट केही दिनका लागि भारी वर्षा टर्ने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबारसम्म धेरैजसो नदीमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
शाखाका अनुसार कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने देखिएको छ ।
सोमबार मोहना, बबई, पश्चिम राप्ती र आसपासका नदी जलाधारमा जलसतह खतराको तह आसपास पुगेको छ । बुधबारदेखि भने सबै नदी जलाधारमा पानीको बहाव घटदै जाने महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्