चिडियाखानाका गोहीलाई पानीको फोहोरा



सदर चिडियाखानाले स्वचालित साधन प्रयोग गरेर गोहीहरुलाई सफा बनाउने भएको छ । उक्त स्वचालित यन्त्रले खोर सफा गर्नेसँगै अक्सिजनको मात्रा पनि बढाउने काम गर्ने सहायक निरीक्षक गणेश कोइरालाले जानकारी दिए ।

कोइरालाले भने, ‘पानीको फोहोरा माथिबाट खस्दा पानीमा अक्सिजनको मात्रा समेत बढ्नेछ । खोर सफा हुँदा आगन्तुक थप आकर्षित हुनेछन् ।’

गोही बस्ने खोरमा प्रयोग हुने स्वचालित यन्त्र जडान गर्ने काम भइरहेको छ । कोइरालाका अनुसार, उक्त काम अन्तिम चरणमा पुगेको छ । ‘दुई चार दिनमै स्वचालित यन्त्र सञ्चालनमा आउनेछ’, उनले भने ।

चिडियाखानामा रहेका जनावरमध्ये गोही फोहोरी जनावर मानिन्थ्यो । आगन्तुकले हेर्दा गोही हिलोमा डुबेको देखिन्थ्यो । यन्त्रको प्रयोगपछि अब गोही जुनसुकै समयमा सफा भइरहनेछ ।

राणाकालमा बनेको चिडियाखानामा वर्षेनी सुधार र मर्मतका काम भइरहेका छन् । सोही क्रममा चिडियाखानाले केही खोरको मर्मत वा पुनःर्निर्माण र क्षेत्रफल बढाउनेजस्ता कामसमेत गरिरहेको छ ।

बाइस वर्ष पहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाको जिम्मेवारी लिएको हो । चिडियाखानामा अहिले एक सय २४ प्रजातिका आठ सय ३७ जनावर छन् । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्