कालिकोटको तीनवटा गाउँ पहिरोको उच्च जोखिममा



रुपेन्द्र ऐडी

कालीकोट, २० असार

जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् ।

वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या आएको छ ।

लगातारको वर्षाले गर्दा तीन स्थानका बासिन्दाको निद्रा हराम हुने गरेको पचालझरनाका चम्फसिं बस्नेतले बताउनुभएको छ । उहाँका अनुसार सुक्खायाममा गएको पहिरोको डरले अहिले बस्तीका बासिन्दा गाउँमा भन्दा पनि गोठतिर स्थायी बसोबास गर्न थालेको दुई वर्ष भइसकेको छ । तलतिर गाउँ छ, माथिल्लो भाग दरार भएर जोखिमयुक्त गाउँमा बस्न असुरक्षाका कारण अधिकांश स्थानीयबासी खार्दुको गाउँ छाडेर डुंग्री, कांग्रे, डाँडागाउँ, खिब्लालगायतका ठाउँमा बसाइँ सरेको बताइएको छ ।

अहिले पचालझरना गाउँपालिकाका वडा नं ३, साविकको राम्नाकोट गाविसको वडा नं ७, ८ र ९ रहेको सो बस्तीमा ३०० घरधुरी रहेको बताइएको छ । सो गाउँलाई पाँचवर्ष अघि बसाइँ अन्य जिल्लामा सार्ने भनिए पनि बेवास्ताका कारण जोखिम मोल्न बाध्य भएको स्थानीय बताउँछन् ।

त्यसैगरी, शुभकालिका गाउँपालिकाको वडा नं १ छातीको बस्तीको तल्लो भागबाट पहिरो गएको एक वर्ष भयो कसैको ध्यान नगएका कारण अहिलेसम्म ती बस्तीका एक दर्जन घरका बासिन्दाको उठिबास भएको छ ।

गएको वर्ष गोठमा बसेका स्थानीय हिउँदको समयमा घरमा आए पनि अहिले भने पुनः गोठमा फर्केका छन् । स्थानीय अर्जुन सुनारका अनुसार आफूहरुले पुनर्वासका लागि पहल चालेको भएपनि कुनै पनि निकायको ध्यान जान सकेको छैन । यस सम्बन्धमा शुभकालिका गाउँपालिकाका प्रमुख खडानन्द चौँलागाईले सो बस्तीका ११ घरपरिवारलाई वैकल्पिक व्यवस्थामा जोड दिएको बताउँदै अहिले अति जोखिममा रहेको अमृते सुनारलाई अन्यत्र व्यवस्था गरिएको र अन्य घरपरिवारलाई तत्काल उचित व्यवस्थापन गर्न लागेको बताउनुभएको छ ।

त्यसैगरी, पाँचवर्ष पहिलेदेखि पहिरोको जोखिममा रहेको नरहरिनाथ गाँउपालिका–४ को माझगोठीमा गाउँको तल्लो भागमा पहिरोले जमीन भाँसिदै गएपछि सो बस्तीका स्थानीयको विचल्ली भएको छ ।

वर्षाको समयमा आफूहरु घर छोडेर बस्नुपर्ने बाध्यता आइलागेको बताउनुहुन्छ स्थानीय टेकबहादुर विक । ४० घर रहेको सो दलित बस्तीमा अहिलेसम्म गाउँपालिकालगायतका निकायमा बस्तीको जोखिम कम गर्नका लागि मागसहित पहल गरेपनि कसैको ध्यान नगएको बताउँदै जीवन विकले आफूहरुका लागि ध्यान दिने न त स्थानीय निकाय छ न त कुनै माथिल्लो सरकार, आफूहरुले राखेको माग पुनर्बास हो कुनै पनि निकायले ध्यान नदिएको जीवनको गुनासो रहेको छ ।

यस सम्बन्धमा माझगोठीको समस्याबारे आफूहरु गम्भीर भएको उल्लेख गर्दै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले निवेदन आएको र सो बस्तीको पुनर्बासका लागि स्थानान्तरण गर्न पहल भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, विपद् व्यवस्थापनका लागि त्यही योजनाका लागि बजेटको व्यवस्थापन गरेका छौँ ।

उहाँले तुरुन्तै सो बस्तीमा उचित व्यवस्थापनमा जोड दिने दाबी गर्नुभएको छ । आठवर्ष अघि हालको शुभकालिका साविकको मु्रगाह गाविसको समलागाउँ उच्च जोखिममा हुँदा पुनर्बासका लागि पहल भए पनि जिल्लाभित्र व्यवस्थापन गर्ने भनेपछि सो क्षेत्रका स्थानीयले नमान्दा सोही स्थानमा बसेका थिए । कालीकोटजस्तो हिमाली क्षेत्रमा भिरालो जमीन र त्यहीमाथि सुख्खा पहिरोका कारण वर्षेनी समस्या आउने गरेको छ ।

जिल्लामा विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय  ९ किर्डाक नेपाल, नेपाल रेडक्रस० लगायतले काम गर्दै आएपनि स्थायी व्यवस्थापनको अभावमा पुनः समस्या दोहोरिने गरेको सामाजिक अगुवा कमल महताराको भनाइ रहेको छ ।

कालीकोट जिल्लामा विपद् व्यावस्थापनका लागि उच्च सतर्कता अपनाइएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्दनाथ गौतमले बताउनुभएको छ । उहाँले उच्च जोखिममा रहेको शुभकालिकालगायतका अन्य क्षेत्रको बारेमा जिल्ला प्रशासन कार्यालयमा आधिकारिक जानकारी केही नभए पनि जानकारी आएका ठाउँमा तत्काल व्यवस्थापन गर्ने बताउनुभएको छ ।

अहिलेसम्म कालीकोटमा मानवीय क्षति नभएको बताइएको छ । कर्णाली राजमार्गको सुर्खेत—जुम्ला सडकखण्डको गगने खोलालगायतका ठाउँमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ भने कर्णाली करिडोरको लालीघाट—पलांता सडकसमेत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्