प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ्य नागरिक निर्माणमा सहयोग पुगेको छ – सभामुख



काठमाडौं, २० असार । सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा विशेष भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रथम राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो । नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने मूल नारासहित पहिलोपटक सरकारी तहबाट मनाइएको प्राकृतिक चिकित्सा दिवसलाई शुभकामना दिनुहुँदै सभामुख महराले प्राकृतिक चिकित्सा, योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउन सके उपचार पद्धतिमा ठूलो उपलब्धि हुने बताउनुभयो ।

 


सभामुख महराले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सातवटै प्रदेशमा एक÷एक वटा सुविधासम्पन्न प्राकृतिक चिकित्सालय स्थापना गर्न सरकारसँग अनुरोध गर्नुभयो । ‘प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्न प्रत्येक प्रदेशमा एक÷एक वटा प्राकृतिक चिकित्सालय स्थापना गरिदिन म सरकारसँग अनुरोध गर्दछु, सभामुख महराले भन्नुभयो, ‘दाङमा संस्कृत विश्वविद्यालयमा छ, त्यहाँ एउटा आयुर्वेद कक्षाका लागि ठूलो भवन निर्माण भइसकेको छ, त्यसलाई आयुर्वेद कलेजको रुपमा विकास गर्न सकिन्छ ।’

प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्न उचित शिक्षा र उपचार विधि आवश्यक हुने भन्दै सभामुख महराले प्राकृतिक चिकित्सा पद्धतिबारे सबैलाई शिक्षित गर्न अभियन्ताहरुलाई आग्रह गर्नुभयो । सरकारले प्राकृतिक चिकित्सा विधेयक ल्याएमा कानून निर्माणका लागि राम्रो हुने भन्दै सभामुख महराले विधेयकका लागि सरकारलाई आग्रह गर्न प्राकृतिक चिकित्साकर्मीहरुलाई सल्लाह दिनुभयो ।

यसैबीच दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेललाई सम्मान गरिएको छ । योग तथा प्राकृतिक चिकित्सक संघले राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसलाई सरकारी तहबाटै मनाउने व्यवस्था गर्न विशेष पहल गर्नुका साथै प्राकृतिक चिकित्सा पद्धतिको महत्वलाई बुझेर उक्त अभियानलाई सहयोग गरेको भन्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका पोख्रेललाई दोसल्ला र अभिनन्दन पत्र सहित सम्मान गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्