उर्वर जमीन मासेर एयरपोर्ट बनाउन दिन्नौं: स्थानिय



दाङको घोराही उपमहानगरपालिका–१०, ११ र १२ को भूभागमा सरकारले वैकल्पिक एयरपोर्ट बनाउन थालेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

संघर्ष समितिले स्थानीय एयरपोर्ट निर्माणको पक्षमा नरहेको भन्दै बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । संघीय सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा दाङको घोराही क्षेत्रमा वैकल्पिक विमानस्थल निर्माण गर्ने उल्लेख गरेको छ । त्यसका लागि प्रक्रिया तत्काल अगाडि बढाउने अर्थमन्त्री युवराज खतिवडाको घोषणा लगत्तै स्थानीयबासी आन्दोलित बनेका हुन ।

यस्तै, सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल पनि दाङमा अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट निर्माणका लागि पहल गर्दै आएका छ्न । घोराही उपमहानगरपालिकाले पनि वैकल्पिक एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन भन्दै बजेट छुट्याउँदै आएको समाचार नयाँपत्रिकामा छापिएको छ ।

किन भयो विरोध ?
एयरपोर्ट निर्माण भए उठीबास लाग्ने भएकाले स्थानीय विरोधमा उत्रिएको समितिले जनाएको छ । ‘खेतीयोग्य जमिन मासेर विमानस्थल बनाउन दिँदैनौ’, सरोकार समितिका संयोजक जयबहादुर बुढाले भने,‘१५ मौजाका जनताको खेतबारी मासेर, हामीलाई विस्थापित गर्ने गरी विमानस्थल निर्माण गर्न खोजे त्यसका विरुद्ध जस्तोसुकै आन्दोलन गर्न पछि पर्ने छैनौं ।’

सोही क्षेत्रमा एयरपोर्ट निर्माण गरिए ५ हजार घरधुरी प्रभावित हुने बुढाले दाबी गरे । उनले तुलसीपुरमा कालोपत्रे विमानस्थल रहेको हुँदा त्यही विमानस्थलको धावनमार्ग विस्तार गरेर टरिगाउँ एयरपोर्टमा नियमित विमान सञ्चालन गर्नुपर्ने बताए। ‘एउटै जिल्लामा र त्यो पनि १२, १५ किलोमिटरको दूरीमा दुइटा विमानस्थल किन चाहियो ? ’ संघर्ष समितिका संयोजक बुढाले प्रश्न गरे ।

एयरपोर्ट हैन कृषिको विकास
स्थानीयले उक्त स्थानमा एयरपोर्ट भन्दा कृषि क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताएका छन् । ‘हाम्रो उर्वरभूमि मासेर विमानस्थल निर्माण गर्न भन्दा सरकारले त्यो खेतबारीमा बाह्रैमास पानी लाग्ने कुलो ल्याउने तिर ध्यान दिनुपर्‍यो’, समितिका सचिव धर्म बहादुर सिजवालले भने, ‘त्यही जमिनको सहारामा हजारौँ घरधुरीले पेट पाल्दै आएका छन् । कृषियोग्य जमिन मासेर घडेरी बेच्ने मनसायले एयरपोर्ट बनाउन खोजिएको हो । ’

उनले स्थानीय गुज्र्रे र सेवार खोलाहरूमा हाइड्याम निर्माण गरेर किसानको खेतमा पानी पु¥याउने सोच बनाउन सरकारलाई आग्रह गरे । अर्का स्थानीय दिपक पाण्डेले पनि सरकारले स्थानीयस्तमा स्तरीय सडक सञ्जाल, कृषि क्याम्पस तथा विद्यालय र अस्पताल बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।

विरोध गर्नू व्यर्थ: मेयर चौधरी
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी एयरपोर्ट निर्माणको कुनै काम अघि नबढि विरोध गर्नुको कुनै अर्थ नरहेको बताउँछन् । सरकारले नीति तथा कार्यक्रममा एयरपोर्ट निर्माण गर्ने कुरा उल्लेख गरे अनुसार हालसम्म सामान्य ठाउँ हेर्न काम मात्रै भएको उनले बताए । एयरपोर्टको काम अगाडी बढेको स्थितिमा स्थानीयसँगको समन्वय बिना आफुहरु अगाडि नबढ्ने र सबैको उचित व्यवस्थापन गरेर मात्र अघि बढ्ने बताए ।

‘अहिले नै विरोध गर्नुपर्ने कुनै कारण छैन । एयरपोर्टका लागि सामान्य लोकेशन हेर्न काम मात्र भएको छ । त्यसको सम्भाव्यता अध्ययन गर्नु बाँकी नै छ’, उनले भने, ‘स्थानीय सँगको सल्लाह बिना हामी अगाडी बढ्दैनौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्