कोमल वलीको माननीय ज्यू (भिडियो सहित)



काठमाण्डौ ३० असार । – प्रदेश ५ बाट राष्ट्रिय सभामा निर्वाचित भएपछि कोमल वलीलाई सबैभन्दा धेरै सोधियो– अब तिजमा नयाँ गीत ल्याउनुहुन्छ कि हुँदैन ?

यसअघिका तिजमा कहिले ‘पोइल जान पाम्’, ‘यो त लास्टै चोटी हो’लगयातका गीत गाएर चर्चा र विवादमा तानिएकी वलीलाई यस्तो प्रश्न सोध्नु स्वभाविक थियो किनकि उनले सार्वजनिक रुपमा अब नयाँ करिअर छानेर आफू अगाडि बढ्ने बताउँदै आएकी थिइन् ।

नयाँ राजनीतिक यात्रालाई पनि गीतमार्फत् नै सम्बोधन गर्दै यसपटक कोमल वलीले तिज गीत ल्याएकी छिन्– माननीय ज्यू ।

गायक पशुपति शर्मासँगको ड्युट गीतमा कोमल वलीले नेपाली राजनीतिका विकृत पक्षलाई व्यंग्य गर्दै आफूले गलत काम नगर्ने प्रतिबद्धता जनाएकी छिन् ।

नेपाली समाजको आम बुझाइ छ– एउटा सांसद्ले चाहेको खण्डमा जे पनि हुनसक्छ । यही कुरालाई कोमलले यसपटकको तिज गीतको सार बनाएकी छिन् ।

गितमा विभिन्न अवतारमा गायक पशुपति शर्मा कोमल वलीलाई नाता लगाउँदै अनेक किसिमका उपहार लिएर माननीय भएकाले एउटा काम गरिदिनु पर्ने अनुरोधका साथ उनीकहाँ पुग्छन् । तर, वलीले आफूले ‘घुस’ लिएर त्यस्ता काम नगर्ने भन्दै शर्माका प्रस्तावहरु अस्वीकार गरिदिन्छिन् । त्यसपछि शर्माले निर्वाचनको समयमा भोट माग्न आएमा आफूले देखाइदिने घुर्की गीतमा लगाएका छन् ।

 

आफूलाई घुस खुवाउन आउनेको भोट नचाहिने वलीको जवाफ हुन्छ । वली प्रतिबद्ध छिन्– गलत काम गरेर आफूले राजनीति गर्नुछैन । यही कुरालाई उनले शुक्रबार आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको गीतको भिडियोको अन्त्यमा पनि उल्लेख गरेकी छिन् ।

माननीय ज्यू बोलको यो गीत पशुपति शर्माले नै लेखेका हुन् । पवित्रा आचार्यको कोरियोग्राफी र दुर्गा पौडेलको निर्देशन तथा छायांकनमा तयार भएको भिडियो युट्युबमा रिलिज भएको केही घन्टामा नै दश हजारभन्दा बढीले हेरिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्