संशोधन विधेयकबारे तीन दलबीच छलफल



असार २७, काठमाडौं । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बीच छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गर्नुभएको बैठकमा संशोधन विधेयकबारे छलफल भएको हो । छलफलमा सत्तारुढ दलका नेताहरुले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै त्यसमा सघाउन प्रमूख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

जवाफमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले यथास्थितिमा संविधान संशोधन आवश्यक नरहेको धारणा राख्नुभएको थियो । बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग र तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी हुनुहुन्थ्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्