चौतारी र सेन्टरको एकतापछि नयाँ बन्ने नाम प्रेस संगठन



दाङ, १५ श्रावण तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन नेपाल बन्ने भएको छ । संगठन एकता कार्यदलको मंगलबार काठमाडौंमा बसेको बैठकले संगठनको नाम र केन्द्रीय सदस्यहरुको संख्या लगायतका विषयको टुंगो लगाएको हो । कार्यदलका एक सदस्यका अनुसार पुराना दुवै संगठनको नामको समेत प्रतिनिधित्व हुनेगरि प्रेस संगठन नाम जुराईएको हो । प्रेस संगठनमा २ सय २५ केन्द्रीय सदस्य रहने तय भएको छ ।

प्रदेशहरुमा भने १ सय २५ सदस्यीय प्रदेश समिति बन्ने छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि देशभरका तल्ला संगठन र जनबर्गिाय संगठनको एकताको प्रकृया चलिरहेको छ ।

सोही क्रममा पत्रकारहरुको संगठनको एकताका लागि गठित कार्यदलले अबको एक साताभित्र एकतासँग सम्बन्धित सवै विषयको टुंगो लगाएर बुझाउने कार्यदलका ती सदस्यले समाचार दैनिक डटकमलाई जानकारी दिए ।

प्रेस संगठनको नेतृत्वको भने टुंगो लागिसकेको छैन । संगठन एकता कार्यदल र पार्टी नेतृत्वसँगको समेत समन्वयमा संगठनको नेतृत्वबारे टुंगो लगाउने तयारी छ । केन्द्रीय सदस्यको एक तिहाई संख्यामा सचिवालय बनाउने, कार्यसंचालनको सहजताका लागि कार्यालय टिम बनाउने, अध्यक्ष र महासचिव राख्ने तर अन्य पदाधिकारी नराख्ने कार्यदलले सिफारिस गरेको छ ।

हाल प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत,महासचिवमा राजेश राई तथा प्रेस सेन्टरको अध्यक्षमा महेश्वर दाहाल र महासचिवमा विष्णु सापकोटा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्