प्रदेश पाँच – बजेट खर्च कमजोर, १९ प्रतिशतमात्रै खर्च



प्रदेश सरकारले पहिलो पटक ल्याएको बजेटको खर्च कमजोर खालको देखिएको छ।

गत आर्थिक वर्ष ०७४/७५ मा पाँच नम्बर प्रदेश सरकारले कूल बजेटको १९ प्रतिशत मात्रै खर्च गरेको छ। पूँजीगत बजेट एक प्रतिशत मात्रै खर्च भएको छ।

प्रदेश सरकार मातहतका आवश्यक संरचना र ऐन कानूनको अभावका कारण बजेट खर्च निकै कम भएको हो। संघीय सरकारले प्रदेश सरकारको लागि १ अर्ब २ करोड ५ लाखको बजेट विनियोजन थियो। जसमध्ये १९ करोड ३० लाख ५३ हजार मात्रै खर्च भएको छ।

पूँजीगततर्फ २५ करोड बजेट छुट्टाइएकोमा जम्मा ६४ लाखमात्रै खर्च भएको छ। प्रदेश सरकार मातहत अझै पनि संरचना नबनेकाले नयाँ आर्थिक वर्षको बजेट समेत खर्च हुन नसक्ने सम्भावना देखिएको मन्त्रालयका सचिवहरू बताउँछन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले मन्त्रालय मातहत बजेट कार्यान्वयन गर्ने संरचना, जनशक्ति र ऐन कानूनको अभावमा बजेट कार्यान्वयन हुन नसकेको बताए।

‘सरकारको बजेट कार्यान्वयन गर्ने मन्त्रालय मातहतका संरचनाले हो, संरचना नबन्दा कर्मचारी आएनन् र विभिन्न निकायका ऐन कानूनहरू नबन्दा बजेट कार्यान्वयन हुन सकेन,’ उनले भने। शून्य पूर्वाधारबाट सुरू भएको प्रदेश सरकारले केन्द्रबाट प्राप्त पूँजीगत बजेट कुर्ची टेबल खरिद र कार्यालय व्यवस्थापनबाहेक अन्यमा खर्च गर्न नसकेको उनले बताए।

प्रदेशका ६ वटा मन्त्रालय र प्रदेशसभामध्ये सबभन्दा बढी प्रदेशसभाले ५ करोड ९१ लाख बजेट खर्च गरेको छ। सबभन्दा बढी बजेट विनियोजन भएको भौतिक पूर्वाधार मन्त्रालयले साढे ३० करोड बजेटमध्ये १ करोड १५ लाख मात्रै खर्च गर्न सकेको छ।

गत आर्थिक वर्षमा सबैजसो मन्त्रालयले बनाएका ठूला योजनामा कुनै पनि काम हुन नसकेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए। आर्थिक वर्षको मध्यतिर प्रदेशका मन्त्रालयहरू स्थापना भए पनि समयमा कर्मचारी व्यवस्थापन हुन नसकेपछि त्यसको असर बजेट कार्यान्वयनमा देखिएको उनले बताए।

भवन डिभिजन कार्यालयले मन्त्रालयहरूको पूर्वाधारको व्यवस्थापन गरेको कारण पूर्वाधारको लागि छुट्याइएको बजेट पनि खर्च नभएको उनले बताए।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २८ अर्बको बजेट ल्याएको छ। मन्त्रालयका संरचना तत्काल नफेरिए र संघीय सरकारबाट अधिकार निक्र्यौल नभए नयाँ बजेट समेत खर्च हुन नसक्ने सचिवहरुको भनाइ छ । प्रदेशमा अहिलेसम्म बजेट खर्च गर्ने निकाय बनेको छैन।setopati

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्