जलाशय आम्दानीका श्रोत बन्दै



दाङ,२० साउन ।  घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरूमा कृत्रिम जलाशय निर्माण गरिएका छन्। ती जलाशयका पानी सिँचाइ, गाईवस्तुलाई खुवाउने पानीको पूर्ति मात्र होइन आयआर्जनको स्रोत पनि बनेको छ। करिब सात वर्षअघि खडेरी परेपछि घोराही उपमहानगरपालिका–१७ का वासिन्दालाई पानीको हाहाकार भयो। खानेपानी ल्याउन निक्कै टाढा धाउनुपर्ने भयो।

 

त्यसैल उनीहरूले तत्कालीन नगरपालिकामा पोखरी निर्माणको लागि माग गरे। नगरपालिकाले केही रकम दियो। उक्त रकम र स्थानीयको श्रमदानबाट वस्तुभाउलाई पानी खुवाउनकै लागि पोखरी निर्माण गरी आकाशे पानी जम्मा गर्न थाले। ‘गाउँमा पोखरी निर्माण गरेपछि बस्तुभाउलाई पानी खुवाउन मात्र होइन,’ आरोग्य टोलका हिरामणि पोखरेलले भने, ‘सिँचाइको पनि सुविधा भयो। अहिले पोखरीमा माछापालन पनि गरिरहेको पोखरेल बताए।

तत्काली नगरपालिकाले छ वटा जलासय निर्माण गरेको र स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि गत आर्थिक वर्षमा थप छ वटा जलासय निर्माण गरेको उपमहानगरपालिकाले जनाएको छ। त्यसैगरी वडा नं. १८ को सालघारीमा पनि जलाशय छ। जलायश निर्माणपछि ट्युबेल र कुवामा सधैं पानी आइरहेको स्थानियहरू बताउँछन्।

 

त्यस्तै, कटाहीमा रहेको जलाशयले पनि खेतीपातीका लागि सिँचाइमा टेवा पुर्याइरहेको स्थानीय छल्लु चौधरीले बताए। चौधरीका अनुसार उक्त जलाशयबाट ४० बिघा जग्गामा सिँचाइ पुगेको छ। उपमहानगरभित्र रहेका कृत्रिम जलाशयबाट स्थानीयहरूले माछापालन गरी आम्दानी गरेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए। उपमहानगरले गरेका अरु विकासे कामभन्दा हिउँदको समयमा खडेरी पर्ने गाउँमा जलाशय निर्माण गर्दा स्थानीयले फाइदाज लिएको प्रमुख चौधरीले बताए। ती जलाशयबाट खेतीपानी, माछापालन, ढुंगा सञ्चालन गरेर स्थानीयले फाइदा लिइरहेको छन्।

 

वर्षामा परेको पानी संकलन गरी नागरिकको आयआर्जनमा सहयोग पु¥याउन जलाशयको निर्माणलाई प्राथमिता दिएको उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले बताए। उनका अनुसार उपमहानगरपालिकाले वडा नं. १७ को ढिकपुर र गुलरिया, वडा नं. १६ को गँगटे र ज्यामिरेमा कृत्रिम जलासय निर्माणको गरेको छ। यस्तै, वडा नं. १८ को गिठेपानी, वडा नं. १२ को सिस्नेरीलगायतका स्थानमा नयाँ कृत्रिम जलासय बनाइसकेको छ।

 

वडा नं. १७ गुलरियामा रहेको जलासय, १६ को गंगटे, वडा नं. १८ को सल्लाघारी, डवरी लगायतका स्थानमा रहेको कृत्रिम जलाशयलाई मर्मत गरी सिँचाइमा प्रयोग गर्ने उपमहानगरपालिकाले बताएको छ। ती जलाशयको पानीबाट स्थानीयले सिँचाइ, माछापालन, हाँस पालन र ढुंगा चलाएर आयआर्जन गरिरहेका छन्। उपमहानगरले चालु आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ कृत्रिम जलासय निर्माण तथा मर्मतमा विनियोजना गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्