वैदेशिक रोजगारीका नाममा दिल्ली हुँदै इराक



भैरहवा : वैदेशिक रोजगारीका नाममा भारत पुग्ने नेपाली महिलाहरूले नेपालबाट प्रस्तान गर्दा नै दर्दनाक पीडा पाउने सुनाउने गरेका छन् । दलालले राम्रो कमाइ हुने प्रलोभनमा थाहै नदिई भारतसम्म पुर्‍याउने गरेका उनीहरू बताउँछन् ।

केही दिनअघि भारतको एक होटलबाट दिल्ली महिला आयोगले ३९ नेपालीको उद्धार गरेको थियो । तीमध्ये तीन नेपालीमहिलाहरू परिवारको सम्पर्कमा आइसकेका छन् । उद्धार गरिएका चेलीहरूका अनुसार उनीहरूलाई दिल्लीको हृदय इन नामक होटलमा करिब डेढ महिनादेखि राखिएको थियो । उक्त होटलमा १ सय ५ जना नेपाली चेली थिए । जसलाई विस्तारै ८÷१० जनाको समूह बनाएर विदेशी मुलुक पठाउने गरिएको उद्धार गरिएका युवतीहरूले बताए ।

तर कहाँ कुन देशमा पठाउने गरेको आफूहरूलाई केही थाहा नभएको काठमाडौं धापसीकी २८ वर्षीया सीता रिजाल (नाम परिवर्तित) ले अन्नपूर्ण पोस्ट्लाई बताइन् । साथीको माध्यमबाट इराक जान आफू दिल्ली पुगेको उनले बताइन् । उनी रसुवा गतलाङका मिलन तमाङ र सिन्धुपाल्चोकका प्रदीप लामामार्फत दिल्ली पुगेकी थिइन् । जसका लागि उनले ३ लाख रुपैयाँसमेत एजेन्टलाई बुझाइएकी छन् ।

उनलाई एजेन्टले इराकमा सिमकार्ड बन्ने उद्योगमा काम लगाउने आश्वासन दिएको थियो । अधिकांश महिलाहरूलाई राम्रो कम्पनीमा जागिर लगाइदिने प्रलोभन दलालहरूले दिने गरेका पीडित महिलाहरू बताउँछन् । सीता गत असार १३ गते घरबाट एक्लै नेपालगन्ज हुँदै दिल्ली (आनन्दविहार) पुगेकी थिइन् । उनी घरबाट निस्किने बेला एजेन्टले उनलाई फोनमार्फत लोकेसन बताएका थिए । सोहीअनुसार उनी भारतको आनन्दबिहार पुगेकी थिइन् । त्यहाँबाट पुन एजेन्टले रिक्सा चढेर हृदय इन नामक होटलमा पुग्न भनेका थिए । होटल पुगेपछि एक नेपालीले कोठाको व्यवस्था गरेको उनले सुनाइन् । जहाँ निकै नेपाली युवती राखिएका थिए ।

उक्त कोठमा अन्य ९ नेपाली युवती थिए । केही समयपछि एजेन्टले ९ मध्ये ७ जनालाई श्रीलंका जाने भन्दै लगेको उनले बताइन् । करिब डेढ महिना होटलमा बसेकी उनले होटलमा खाएको बसेको पैसा भने तिर्नुपर्दैनथ्यो । एजेन्टले राम्रो व्यवस्थापनका साथ उनीहरूलाई होटलमा राखेका थिए । व्यक्तिगत साम्रगी खरिद गर्न युवतीहरूले घरबाट पैसा मगाउँथे ।

दिल्ली पुगेको १५ दिनपछि उनले रकम बुझाएको एजेन्टहरू होटलबाट पुगेका थिए । तर उनीहरू होटलमा एकछिनको लागि मात्रै आउने गरेको उनले बताइन् । आफूहरूले पटक पटक कहिले विदेश पठाउने भनेर एजेन्टसँग प्रश्न गर्दा एक÷दुई दिनको आश्वासन दिँदै करिब डेढ महिना लगाएको उनले गुनासो पोखिन् ।

उद्धार गरिएका ३९ जना युवतीमध्ये ३ जनालाई दिल्लीमै उनीहरूको आफन्तको जिम्मा लगाइएको छ भने अन्य ३६ जनालाई रूपन्देही प्रहरीको जिम्मा लगाइएको थियो । यता रूपन्देही प्रहरीले ३६ जनामध्ये ३४ जनालाई उनीहरूको परिवारलाई बुझाएको जनाएको छ ।

शंकाको घेरामा दिल्ली प्रहरी

नेपाली चेलीहरूको उद्धार घटनामा दिल्ली पुलिस शंकामा घेरामा परेको छ । उद्धार गरिएका नेपाली चेलीहरूलाई प्रहरीले कुटपिट गर्दै ‘आफू घर जान नचाहेको बयान दिन’ दबाब दिएका थिए । दिल्ली प्रहरीले आफूहरूलाई होटलबाट महिला आयोगको कार्यालयमा ल्याउने क्रममा १०० नम्बरमा फोन गरेर आफूहरू घर जान नचाहेको भन्न दबाद दिँदै कुटपिट गरेको सीताले दुःखेसो पोखिन् ।

आयोगमा हाजिर हुन कमिसनरलाई निर्देशन

उद्धारसँग सम्बन्धित घटनालाई लिएर दिल्ली महिला आयोगले दिल्लीको ज्वाइन्ट पुलिस कमिसनरलाई आयोग कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । आयोगले उद्धार गरिएका चेलीहरूलाई अवासगृहमा नपठाई थुनामा किन राखेको, मुद्दाको काम कारवाही कहाँसम्म पुग्यो, मुद्दा किन दायर नगरेको, चेलीहरूको बयान किन नलिएको, यति धेरै संख्यामा चेलीहरू होटलमा बस्दा जानकारी थियो वा थिएनलगायत विषयमा आयोगको कार्यालय उपस्थित भएर जानकारी गराउन कमिसनरलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाले जनाएको छ ।

सलमान खान ,अन्नपुर्ण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्