साथीको एसईई परीक्षा दिने र दिन लगाउने पक्राउ



धादिङवेशी । एसईईको ग्रेड वृद्धि परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरको छ । सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिइरहेका विक्रम गुरुङलाई प्रहरीले पक्राउ गरको हो ।

शनिबार विज्ञान विषयको परीक्षामा सहभागी हुनुपर्ने ०२६१४२३‘एस’ सिम्बोल नम्बरका मिलन घिमिरेको सट्टामा परीक्षा दिइरहेका ०२६१४०३‘वाइ’ सिम्वोल नम्वरका विक्रम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डम्बर बहादुर विकले जानकारी दिए ।

दुवैले शुक्रबार गणित विषयको परीक्षा दिएका थिए । शनिबार परेको विज्ञान विषयको परीक्षा दिनका लागि आफू बिरामी परेकाले साथीलाई दिन पठाएको सक्कली परीक्षार्थी मिलन घिमिरले बताए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यलय धादिङले हिरासतमा राखेको छ । परीक्षालाई मर्यादित र शान्तिपूर्वक सम्पन्न गराउनका लागि बनाइएको केन्द्राध्यक्ष निर्देशिका अनुसार आफ्नो सट्टामा अरुले नै परीक्षा दिइएको खण्डमा सक्कली परीक्षार्थीलाई तत्काल परीक्षाबाट निलम्बन गरी अधिकतम २ वर्षसम्म कुनैपनि परीक्षामा सहभागी हुन नपाउने गरी दण्डित गर्न परीक्षा नियन्त्रण कार्यलयमा सिफारिस गर्नुपर्ने नियम उल्लेख छ ।

नक्कली परीक्षार्थीले परीक्षा दिएको उत्तरपुस्तिका, घटनामुचुल्का र केन्द्रध्यक्षको प्रतिवेदन शिक्षा विकास तथा समन्वय इकाइमार्फत परीक्षा नियन्त्रण कार्यलयमा पठाइने शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

अन्नपुर्ण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्