वैवाहिक बलात्कारमा पाँच वर्ष जेल



काठमाडौं । भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ। पत्नीको इच्छाविपरीत यौन सम्बन्ध राखेमा पतिलाई यस्तो सजाय तोकिएको हो। कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ।

नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ। जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था नयाँ संहितामा छ।

मुलुकी अपराध संहितामा पीडित बालिका र महिलाको उमेर हेरीकन अपराधीलाई सजायको व्यवस्था गरिएको छ। बलात्कारमा संलग्नलाई ७ वर्षदेखि २० वर्षसम्म जेलसजाय हुने व्यवस्था गरिएको छ। सामूहिक रुपमा जबर्जस्ती करणी गरेमा अपराधीलाई थप पाँच वर्ष जेल सजाय हुन्छ । मुलुकी ऐनमा भने अपराधीलाई ६ देखि १० वर्षसम्मको जेल सजायको व्यवस्था छ।

नयाँ संहिताअनुसार १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गर्ने अपराधी २० वर्ष जेल बस्नुपर्नेछ। १० देखि १४ वर्षसम्मकी बालिकालाई बलात्कार गर्ने दोषीलाई १४ देखि १६ वर्षसम्म जेल सजायको व्यवस्था कानुनले गरेको छ ।

वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कार भएका दोषीलाई १२ देखि १४ वर्षसम्म जेल सजाय हुने भएको छ। १६ वा १६ वर्ष भन्दा बढी र अठार वर्षभन्दा कम उमेरकी महिला बलात्कृत भएमा दोषी व्यक्ति १० देखि १२ वर्षसम्म जेल बस्नुपर्नेछ। त्यसैगरी १८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए दोषीलाई सातदेखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।

हाल कार्यान्वयनमा रहेको मुलुकी ऐन २०२० मा महिलाको उमेर हेरेर बलात्कारीलाई एकदेखि १० वर्षसम्मको सजाय व्यवस्था छ। नयाँ संहिताअनुसार सामूहिक रुपमा जबर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीकी गर्भवती, अशक्त, अपांगता भएका वा शारीरिक, मानसिक रुपमा अस्वस्थ महिलालाई हातहतियार देखाई जबर्जस्तीकरणी गर्नेलाई पनि २५ वर्ष जेल सजाय हुनेछ।

नयाँ संहिताले तीनवटा अवस्थालाई वैवाहिक सम्बन्ध कायम नरहेको मानेको छ। कुनै पनि महिलाको हकमा पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको, पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको अवस्थालाई कानुनले वैवाहिक सम्बन्ध नरहेको मानेको छ।

हाडनाता करणीमा दोषीलाई जन्मकैद
नयाँ कानुनले हाडनाता करणीमा अपराधीलाई जन्मकैदको व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणी भएमा जन्मकैद हुनेछ। त्यसैगरी ‘सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी, पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना’ तोकिएको छ।

एकै हाँगाको तीन पुस्ताभित्रको करणी भएमा ३ वर्षदेखि छ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था कानुनले गरेको छ । वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता हेरी ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।भाषा शर्मा ,नागरीक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्