आजदेखि एसियाली खेलकुद



जकार्ता – इन्डोनेसियाको राजधानी जकार्ता ट्राफिक जामका लागि विश्वमै बदनाम सहर हो। केही किलोमिटरको दूरी तय गर्न घण्टौं लाग्नुलाई यहाँ सामान्य मानिन्छ। तर विश्व खेलकुदमा ओलम्पिकपछिको दोस्रो ठूलो खेल महोत्सव एसियाली खेलकुद आयोजना गर्न तम्तयार रहँदा इन्डोनेसियाले ट्राफिक व्यवस्थापन चुस्त पार्न थुप्रै प्रयास गरेको छ।

एसियाली खेलकुद (एसियाड)को १८ औं महोत्सवका लागि ४५ देशबाट १२ हजारभन्दा बढी खेलाडीले विभिन्न ४७ खेलमा ४ सय ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने महोत्सवका लागि इन्डोनेसिया पूरा तयार भइसकेको छ। शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने उद्घाटन समारोहका लागि जकार्ताको गेलोरास्थित बङ कामो रंगशाला दुलहीजस्तै सिँगारिएको छ।

एसियाभरबाट आएका खेलाडी, खेलपदाधिकारी, पत्रकार तथा दर्शकलाई उद्घाटन समारोहमा इन्डोनेसियाको कला, संस्कृति र विकास तथा संवृद्धि देखाएर मनोरञ्जन प्रदान गर्न १० हजार कलाकार तम्तयार छन्। उद्घाटन हुने रंगशालामै शुक्रबार उनीहरूले बन्द ढोकाभित्र भव्य रिहर्सल गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। यसपालिको एसियाली खेलकुद इन्डोनेसियाले जाकार्ता र पालेम्बाङ गरी दुई फरक सहरमा गर्दै छ। एसियाली खेलकुदको १८औं महोत्सव इन्डोनेसियाका लागि दोस्रो आयोजना अनुभव हुनेछ। यअसघि इन्डोनेसियाले १९६२ मा पहिलो पटक एसियाली खेलकुदको सबभन्दा ठूलो महोत्सव आयोजना गरेको थियो।

ट्राफिक जाम कम गर्ने उद्देश्यमा प्रतियोगिता अवधिभर जाकार्तामा यात्रुवाहक मिनिबस सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।  गत हप्ताबाटै जकार्ता शिक्षा प्रशासनले विद्यालय बन्दको घोषणा गरेको थियो। विद्यालय बन्द र मिनिबस प्रतिबन्ध लगाइएपछि यहाँको ट्राफिक निक्कै होलो भएको स्थानीय ट्याक्सी चालक सुब्रतोले बताए। ‘स्कुल बन्द भएपछि यहाँ बाटो धेरै खुकुलो भइसकेको थियो। मिनिबस पनि बन्द गरेपछि त हामीले जकार्तामा गाडी चलाउँदा कहिल्यै नपाएको राहत महसुस गर्न पाएका छौं,’ उनले भने, ‘तपाईंहरू १० दिनअगाडि आउनु भएको भए थाहा पाउनुहुन्थ्यो, यहाँको ट्राफिक कति व्यस्त छ भनेर।

इन्डोनेसियाले एसियाडको भव्य सफलताका लागि जकार्ता र पालेम्बाडमा गरी कुल १३ हजार स्वयम्सेवक परिचालन गर्ने भएको छ। १४ खेलका लागि ३ हजार १ सयको हाराहारीमा खेलाडीलाई आतिथ्य गर्ने पालेम्बाङमा २ हजार तथा बाँकी ४३ खेलका ९ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जकार्तामा ११ हजार स्वयम्सेवक परिचालन हुने आयोजक कमिटीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ। आयोजक कमिटीका उपप्रमुख सिस्वान्तोले एसियाडलाई भव्य रूपमा सम्पन्न गर्न इन्डोनेसिया पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

‘खेलाडी, खेल अधिकारी र पत्रकार गरी २५ हजारभन्दा बढी पाहुना एसियाली खेलकुदका लागि इन्डोनेसिया आएका छन्। उनीहरूको सुविधामा कुनै सम्झौता गरिने छैन। जकार्ता र पालेम्बाङका सबै खेलस्थल, अभ्यासस्थल तथा सहरमा मुख्य चोकहरूमा हाम्रा स्वयम्सेवक पाहुनाको सेवाका लागि उपस्थित रहनेछन्,’ सिस्वान्तोले भने। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेपछि शनिबारबाट औपचारिक रूपमा सुरु हुने एसियाली खेलकुदमा यसपाली ब्रिज, जेट स्की, जुजित्सु, कुरास, प्याराग्लाइडिङ, पेनाक सिलात, साम्बो, स्केट बोर्डिङ र स्पोर्टस क्लाइम्बिङ खेल पहिलो पटक समावेश गरिएको छ। फुटबल, बास्केटबललगायतका केही खेलहरू अघिल्लो साता नै सुरु भइसकेका छन्।

नेपालको झन्डा कमलबहादुरले बोक्ने
उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा भारोत्तोलनका दक्षिण एसियाली स्वर्ण पदकधारी खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन्। राष्टिय खेलकुद परिषद्का सदस्यसचिव एवं एसियाली खेलकुदको नेपाली टोलीका सेभ दी मिसन केशवकुमार विष्टले राष्टिय झन्डा कमलबहादुरले बोक्ने जानकारी गराए। यसपालि नेपालको वैदेशिक प्रशिक्षण पहिलाभन्दा राम्रो भएको दाबी गर्दै पदक पनि इतिहासकै सबभन्दा बढी आशा गरिएको विष्टले बताए। विष्टले इतिहासकै राम्रो तयारी भने पनि नेपाली खेलाडीहरूको प्रशिक्षण तीन महिनाअघि मात्र सुरु गरिएको थियो। ‘यसपालि तयारी राम्रो भएकाले पहिलाभन्दा बढी पदकको आशा गरेका छौं । तेक्वान्दो, जुडो, कराते, महिला बक्सिङ, उसु, प्याराग्लाइडिड, स्केट बोर्डिङमा पदक आशा गरेका छौं,’ विष्टले भने।२९ खेलमा १ सय ८५ खेलाडी सहभागी गराउने तयारीमा रहेको नेपालका अधिकांश खेलाडी इन्डोनेसिया आइसकेका छन्। पछि प्रतिस्पर्धा हुने केही खेलका खेलाडी भने आफ्नो खेल सुरु हुने बेला मात्र आउने सदस्यसचिव विष्टले बताए।ओलम्पिक काउन्सिल अफ एसियाले शनिबारको उद्घाटन समारोहमा मार्चपासका लागि कम कोटा मात्र दिएको बताइएको छ। कोटा कम मात्र प्राप्त भएकाले नेपालका तर्फबाट मार्चपासमा ८० खेलाडी तथा खेलकर्मीले मात्र सहभागिता जनाउन पाउनेछन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्